नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काललाई कायम नहुने भएपछि शनिबारबाट एकसाथ नेपाल प्रहरीतर्फ ८९ र सशस्त्र प्रहरीतर्फ १६ अधिकृतको अवकाश भएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले ३० वर्षे हटाउन दिएको अन्तरिम आदेश शुक्रबार संयुक्त इजलासबाट खारेज भएसँगै उनीहरूले एकसाथ अवकाश पाएका हुन् ।
सर्वोच्चका न्यायाधीश विनोद शर्मा र सारंगा सुवेदीको संयुक्त इजलासले सरकारको ‘भ्याकेट’ निवेदनमा माग भएअनुसार गत बिहीबार न्यायाधीश फुयाँलको एकल इजलासले गरेको अन्तरिम आदेश खारेज भएको हो।
यो आदेश खारेजसँगै नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) विष्णुकुमार केसीसहित ८९ जना एकसाथ अवकाशमा गएका हुन्। सशस्त्र प्रहरीमा पनि डिआइजीद्वय अभि खत्री र दुर्गा भट्टराईसहित १६ अधिकृत घर गएका छन्। उनीहरू सबै जना आफ्नो कार्यालयबाट केही शुक्रबार बिदा भएका छन् भने केहीचाहिँ आइतबार बिदा हुनेछन्।
शनिबार बिदा भएको र आइतबारदेखि ३० वर्षे सेवा हद लाग्ने भएकाले उनीहरूको सेवा अवधि सकिएको हो। प्रहरी ऐनमा तीन प्रावधानले अवकाश हुने व्यवस्था छ। ३० वर्षे सेवा अवधि, उमेर हद र कार्य अवधिमध्ये जुन पहिले आउँछ, सोही व्यवस्थाअनुसार अनिवार्य अवकाश दिने व्यवस्था छ। ८९ प्रहरी ३० वर्षे सेवा अवधि पूरा भएका कारण अवकाश हुने भएका हुन्।
शुक्रबार नै गृह मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले प्रहरी ऐन २०१२ प्रतिस्थापन गर्न नयाँ ऐनको मस्यौदा गृह मन्त्रालयबाट पारित भएर सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको बताएका थिए। अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएपछि कानुन मन्त्रालयमा पठाइने उनको भनाइ थियो। कानुन मन्त्रालयको रायपछि मन्त्रिपरिषद्मा पेस हुनेछ। त्यहाँबाट संसद्मा छलफलका लागि लगिनेछ। संसद्बाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नयाँ ऐन लागु हुनेछ।
प्रस्तावित ऐनमा समेत ३० वर्षेलगायत अवकाशका प्रावधान हटाउन लागिएको छ। न्यायाधीश फुयाँलको आदेशविरुद्ध गृह मन्त्रालयले भ्याकेट निवेदन दिएको थियो। निवर्तमान गृह सचिव एवं हालका मुख्य सचिव एकनारायण अर्यालले सरकारका तर्फबाट उक्त आदेश खारेजको माग गर्दै भ्याकेट दर्ता गराएपछि बिहीबार नहकुल सुवेदी र विनोद शर्माको इजलासले दुवै पक्षलाई झिकाएर शुक्रबारका लागि पेसी तोकेको थियो ।
न्यायाधीश फुयाँलको अन्तरिम आदेश खारेज भएसँगै ३० वर्ष पूरा गरेर बिदा हुनेमा २०५१ भदौमा एकसाथ प्रहरी सहायक निरीक्षकमा भर्ना भएर हाल नेपाल प्रहरीतर्फ डिआइजी रहेका विष्णुकुमार केसी, सशस्त्र प्रहरीतर्फ डिआइजीद्वय अभि खत्री र दुर्गा भट्टराईदेखि प्रहरी निरीक्षकहरूसम्म छन्।