सिरहाको सदरमुकामस्थित बजारसँगै जोडिएको बसबिट्टा बस्ती थोरै बर्खामा पनि डुबानमा पर्ने गरेको छ । पानीको निकास नहुँदा बस्तीका करिब पाँच सय घरपरिवार बर्सेनि डुबानको समस्यामा पर्दै आएका छन् ।
बस्तीको पूर्वतर्फ गत वर्ष पक्की सडक बनेसँगै डुबान प्रभावित क्षेत्र झन् विकराल बन्दै गएको स्थानीय पीडित रामविलास यादवले बताए । ‘बस्तीको पूर्वतर्फबाट नाला निर्माण नगरी पक्की सडक बन्यो । त्यसपछि यो वर्ष त पूरै गाउँ सामान्य वर्षामै डुबानमा पर्यो,’ उनले भने, ‘कति महिनासम्म डुबान रहिरहने हो टुङ्गो छैन ।’ समस्याको दीर्घकालीन समाधान गर्नतर्फ कसैले ध्यान नदिएको उनले गुनासो गरे ।
बस्तीको पश्चिमतर्फ नजिकै कमला नदीमा रहेको तटबन्धका कारण पानी निकासमा समस्या भएको अर्का स्थानीयवासी राजकुमार यादवको भनाइ छ । उनले भने, ‘एकातर्फ कमला नदीको तटबन्ध छ भने अर्कातर्फ बस्तीभन्दा अग्लो गरी पक्की सडक निर्माण गरिएको छ । अनि कहाँबाट पानीको निकास हुन्छ ? भारी वर्षा हुँदा घरबाट बाहिर निस्कन सकिने अवस्था छैन । केटाकेटी र वृद्धवृद्धालाई झन् जोखिम बढेको छ ।’ पानीको उचित निकास नहुँदा बस्ती नै विस्थापित हुनुपर्ने अवस्था आइसकेको उनले बताए ।
मुख्य गरी यहाँको पासमान गाउँ, महाराजा टोल, कजकलवा, यादव बस्तीलगायत क्षेत्रमा डुबानको समस्या हुँदै आएको सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले जानकारी दिए । कमला तटबन्ध व्यवस्थित नहुँदासम्म समस्या सुल्झन गाह्रो हुने उनको भनाइ छ । कमला तटबन्ध क्षेत्रका ठाउँठाउँमा राखिएको कलभर्ट (कजवे) बाट वर्षामा कमला नदीमा आएको बाढी उल्टो बस्तीतिर पस्ने गरेको अध्यक्ष यादवको भनाइ छ ।