मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालमा भाद्र १४ गते राति ९ बजे छड्के अनुगमन गरेका छन् । रातका समयमा चिकित्सक तथा अभावमा बिरामीको उपचारमा कठिनाइ हुने गरेको जनगुनासोपछि मुख्यमन्त्री सिंहले अनुगमन गरेका हुन् ।
‘अस्पतालको सेवा प्रवाहसम्बन्धी धेरै नजगुनासो आइरहेको छ । नेपाल सरकारको मापदण्डअनुसार मेसु तथा डाक्टर र कर्मचारीले ड्युटी गर्नुपर्छ’, मुख्यमन्त्री सिंहले भने, ‘कमी कमजोरी सुधार गरी प्रभावकारी सेवा प्रवाह गर्न आवश्यक छ ।’ व्यवस्थापनमा कमी कमजोरी देखिएको भन्दै अस्पतालका मेसु (मेडिकल सुपरिटेन्डेन्ट) सुनिलकुमार कुसवाहलाई सम्बन्धित मन्त्रालयका तर्फबाट सोमबारसम्म स्पष्टीकरण सोधिने पनि मुख्यमन्त्री सिंहले बताए ।
अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह, प्रयोगशालालगायत निरीक्षण गरे। उनले ड्युटी चार्ट अवलोकन गरी चिकित्सक तथा स्वास्थ्यकर्मी आए, नआएका विषयमा खोजीनीति गरे । त्यस्तै, अस्पतालमा उपचार गराइरहेका बिरामी तथा कुरुवाहरूसँग पनि अस्पतालका सेवाबारे सोधपुछ गरे ।
त्यस क्रममा मुख्यमन्त्री सिंहले ड्युटीमा रहेका चिकित्सक र कर्मचारीलाई बिरामीको उपचारमा कुनै लापरबाही सह्य नहुने भन्दै सेवा प्रवाहमा तदारुकता देखाउन निर्देशन दिए। त्यसैगरी अस्पतालमा सरसफाइको थप राम्रो व्यवस्थापन गर्न पनि निर्देशन दिए। रातका समयमा बिरामीको उपचारमा बेवास्ता भइरहेको गुनासोबीच मुख्यमन्त्री सिंहले राति अस्पतालको अनुगमन तथा निरीक्षण गरेकामा बिरामी तथा कुरुवाहरूले खुसी व्यक्त गरेका छन्