मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढेका छन् । साउन सुरु भएसँगै मकवानपुरमा फाट्टफुट्ट देखिने स्क्रब टाइफसका बिरामी पछिल्लो समय ठूलो सङ्ख्यामा देखा पर्न थालेको हो ।
यही साउनदेखि हालसम्म मकवानपुरमा स्क्रब टाइफसका बिरामीको सङ्ख्या ७० पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले जानकारी दिए। डेङ्गी सङ्क्रमणजस्तै स्क्रब टाइफसका बिरामी सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा भेटिएका छन् ।
हेटौँडा उपमहानगरपालिकामा ३९ जना स्क्रब टाइफसका बिरामी फेलापरेको प्रमुख मिझारले बताए ।
यस्तै मकवानपुरगढीमा नौ, मनहरी गाउँपालिकामा छ, बकैया गाउँपालिकामा सात, भीमफेदी गाउँपालिकामा चार, बागमती गाउँपालिका, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकामा एक–एकजना स्क्रब टाइफसका बिरामी फेलापरेको प्रमुख मिझारले जानकारी दिए । मुसाको माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सचेतना अपनाउन प्रमुख मिझारले आग्रह गरे ।