परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली कांग्रेसको केन्द्रीय समितिलाई हालैको आफ्नो भारत भ्रमण सफल भएको जानकारी गराउनुभएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. राणाले शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्नुहुँदै आफूले यही भदौ २ देखि ६ गतेसम्म गरेको भारत भ्रमण सफल भएको जानकारी दिनुभएको हो । नेपाल र भातरबिचको आपसी सद्भाव अभिवृद्धि गर्न यस भ्रमणले उल्लेखनीय भूमिका निर्वाह गरेको जानकारी पनि उहाँले दिनुभयो ।
परराष्ट्रमन्त्री डा. राणा भारतको चारदिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्कनुभएको हो । कांग्रेस केन्द्रीय समितिको आजको बैठकमा उहाँले यस भ्रमणबाट दुई मुलुकका बिचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ठ सम्बन्धलाई मजबुत तुल्याउन योगदान पुगेको विश्वास आफूले लिएको पनि बताउनुभयो ।
उहाँले नेपालमा ठुला पार्टी मिलेर बनेको स्थायी प्रकृतिको सरकारलाई भारतले राम्रो ‘रेस्पोन्स’ गरेको आफूले पाएको अनुभव सो बैठकमा सुनाउनुभएको थियो ।