पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका विवादित पूर्वसञ्चालक सचिव अनुज नकर्मी पक्राउ परेका छन् । उनलाई प्रहरीले साउन ३२ गते काठमाडौं दक्षिणकालीबाट पक्राउ गरी पोखरा ल्याएको हो ।
पर्साको वीरगञ्ज महानगरपालिका–१४ श्रीपुर स्थायी घर भई हाल पोखरा महानगरपालिका–१७ घारीपाटन बस्ने ४८ वर्षिय नकर्मीलाई कास्की प्रहरीले आइतबार जिल्ला अदालतमा हाजिर गराएको छ । नकर्मीलाई आइतबार नै जिल्ला कारागार चलान गरिएको एसपी थापाले बताए ।
सहकारी पीडीतको उजुरीको आधारमा कास्की प्रहरीले सहकारी ऐन, नियमावाली तथा संस्थाको नियम विपरीत रकम हिनामिना एवं अपचलन गरेको आरोपमा १९ जनालाई प्रतिवादी बनाई २०८० असोज १८ गते जिल्ला अदालत कास्कीमा सहकारी ठगी मुद्दा दर्ता गरेको थियो । एसपी थापाका अनुसार ५ जना पूर्पक्षको लागि जिल्ला कारागार छन् भने, नकर्मी छैठौ प्रतिवादी हुन् ।
जीबी राईसमेत अन्य १३ जना फरार रहेको उनले बताए । ‘जीवी राई पनि मलेसिया छन् भन्ने सूचना आएको छ’ एसपी थापाले भने, ‘उनलाई रेड कर्नर नोटिस जारी भएको छ । अर्न्तराष्ट्रिय प्रहरीले नै समात्नेछ ।’ जीवीका दाई भूपेन्द्र राई पनि बेलायत रहेको सूचना प्राप्त भएको उनले बताए । उनीहरुविरुद्ध १ अर्ब ३५ करोडको बिगो छ ।