नक्कली भुटानी शरणार्थीसम्बन्धी संगठित अपराधमा उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच समन्वयको काम गरेका बिचौलिया बेचन झा जेल चलान भएका छन्।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई आइतबार थुनामा पठाउने आदेश दिएको हो।
उनीविरुद्ध संगठित अपराध, राज्यविरुद्धको अपराध, ठगी र लिखत किर्ते मुद्दा दायर भएको थियो। चार दिन लामो बयान र थुनछेक बहसपछि थुनामा राख्ने आदेश भएको हो।
इन्कारी बयान गरेका झाविरुद्ध प्रहरीले अन्य प्रमाण जुटाएको थियो। प्रहरीले यसअघि दायर गरेको अभियोगपत्रअनुसार तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग झाले नै भेट गराइदिएका थिए।