कक्षा १२ को नतिजामा राष्ट्रिय परीक्षा बोर्डले त्रुटि गरेको भन्दै ३३ हजार विद्यार्थीले उत्तरपुस्तिका रिटोटलिङ (पुनर्याेग) गर्न निवेदन दिएका छन् । बोर्डकै कारण आफूहरूको नतिजामा एनजी आएको दाबीसहित विद्यार्थीले अनलाइनमार्फत निवेदन दिएका हुन् ।
गत वर्ष कक्षा १२ को परीक्षापछि रिटोटलिङका लागि १५ हजारले मात्रै आवेदन दिएकोमा यसपटक भने दोब्बरको संख्यामा आवेदन परेको हो । बोर्डका कक्षा ११ र १२ कन्ट्रोलर कृष्ण शर्माका अनुसार २ भदौसम्म विद्यार्थीले रिटोटलिङका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म दश हजार आवेदन थप हुने अनुमान गरिएको छ । ‘यसपटक हामीले अनलाइनमार्फत आवेदन दिन पाउने व्यवस्था गरेका छौँ, सोही कारण विद्यार्थीले घरमै बसी आवेदन दिएका छन् । विद्यार्थीको आवेदनका आधारमा सक्दो छिटो नतिजा दिन्छौँ,’ उनले भने, ‘प्राविधिक त्रुटिका कारण कतिपय उत्तीर्ण भएका विद्यार्थीको नतिजा बिग्रिएको हुन सक्छ ।’
रिटोटलिङका लागि ठूलो संख्यामा आवेदन पर्नुलाई बोर्डको त्रुटिका रूपमा हेरिएको छ । बोर्डले हजारौँ विद्यार्थीको नतिजा बिगार्नु बोर्डको कमीकमजोरी रहेको जानकारहरू बताउँछन् । विद्यार्थीले पनि बोर्डको कमीकमजोरीका कारण आफूहरू अन्योलमा परेको बताएका छन् । बौद्ध महांकालमा रहेको जनकल्याण माविबाट कक्षा १२ को परीक्षा दिएकी एक छात्रा आफूहरूले परीक्षामा राम्रो लेखे पनि अंग्रेजीमा एनजी आएकाले रिटोटलिङका लागि आवेदन दिएको बताइन् । ‘मैले परीक्षा राम्रो नै गरेको हो, यसभन्दा अघिका परीक्षामा पनि नतिजा राम्रो थियो । तर, आफू कन्फिडेन्ट रहेको विषयमा समेत फेल हुँदा दुःख लाखेको छ,’ उनले भनिन्, ‘निवेदन त दिएकी छु, तर नतिजा कुर्दा कहिलेसम्म समय लाग्ने हो थाहा छैन ।’