राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट हटाइएपछि डा. मुकुल ढकालले ‘३८ जिल्ला घुमेर’ पार्टीका लागि तयार गरेको सुझाव प्रधानमन्त्री केपी ओलीलाई बुझाएका छन् ।
सोमबार १५ बुँदे सुझाव आफूले बालुवाटारस्थित प्रधानमन्त्री निवासमै गएर बुझाएको उनले बताए । ढकालको दाबीअनुसार, गत ६ जेठदेखि ५ असारसम्म रास्वपा महामन्त्रीको रूपमा समीक्षा यात्रामा गएर उनले २ हजार ७९ जनाभन्दा बढी नागरिकसँग प्रत्यक्ष संवाद गरेका थिए । नागरिक रायकै आधारमा प्रतिवेदन तयार गरेको उनको भनाइ छ ।
‘पार्टीको कार्यक्रम भए पनि मैले भेटेका जनता आम जनता थिए र राष्ट्र निर्माणमा जनताले दिएका सुझाव महत्त्वपूर्ण भएकाले पार्टी महामन्त्रीको रूपमा नभई आम नेपाली नागरिकको हैसियतमा सम्माननीयसामु सुझाव पेस गर्दै छु’, प्रधानमन्त्रीलाई बुझाएको सुझावको भूमिकामा उनले लेखेका छन् ।