१२ अगष्ट अर्थात् अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा अनलाइनखबरडटकमले नेपालका ‘४० वर्ष मुनिका ४० प्रभावशाली युवा’को सूची सार्वजनिक गरेको छ । यो सूचीमा राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम व्यवस्था र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ४० युवाहरु छन् ।
यो सूचीमा तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान पनि परेका छन् । गाउँपालिकाको शिक्षा र स्वास्थ्य सुधारमा लागेका चुमानले पर्यटनलाई पनि प्राथमिकतामा राखेका छन् । चुमानले गाउँपालिका भित्रका सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि अभियान नै चलाएका थिए। उनकै नेतृत्वमा पालिकाले स्वास्थ्य चौकी स्तरोन्नति गरी अस्पताल चलाइरहेको छ ।
विद्यार्थी आन्दोलन हुँदै गाउँपालिका अध्यक्षको कुर्सीसम्म आइपुगेका चुमानले नागरिकमा आशा जगाउने प्रयत्न गरेका छन् । सरल व्यवहार र लवाइखवाइ तथा साधारण जीवनशैलीमा विकासदेखि सेवाप्रवाहसम्म चुस्त बनाउन लागिपरिरहेका चुमान युवाहरूका निम्ति प्रेरणा बनेका छन् ।