भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ ।
महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यका अनुसार प्यारापिट मुनि ढुङ्गाको सोलिङको धमाधम भइरहेको छ । निर्माणमा प्रयोग हुने स्थानीय सामग्रीको महानगरपालिकाको प्रयोगशालामा परीक्षण भइरहेको छ भने रड प्रयोगशाला परीक्षणका लागि काठमाडौँ पठाइएको छ । उहाँले भन्नुभयो “निर्माण कम्पनीका प्राविधिक एवं कर्मचारी फिल्डमा खटिएर काम सुरु गरेका छन् ।”
यसैबीच, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्धारित समयमा काम पूरा गर्न कम्पनीका प्रमुख एवं प्राविधिकलाई अनुरोध गर्दै नगरपालिकाका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सुरुमा निर्माणको सुरुवात धुर्मस सुन्तली फाउण्डेशनले गरेको थियो ।
महानगरसँग सम्झौता गरेको ठेकेदार कम्पनीले फिल्डमा काम शुरु गरेको हो । रङ्गशाला निर्माणको अनुमानित लागत ७५ करोड ५० लाख ९१ हजार एक सय ८९ छ । २०८३ साल पुस २२ गतेसम्ममा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ । चालू आर्थिक वर्षमा सङ्घीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले चार करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत व्यहोर्ने सहमति गरेको छ । शुरुमा रङ्गशाला निर्माण थालेको धुर्मस सुन्तली फाउण्डेशनले पाँच हजार जना अट्ने प्याराफिट तयार गरिसकेको छ ।