भारतका विदेशसचिव विक्रम मिश्री आइतबार दुईदिने औपचारिक नेपाल भ्रमणमा आइपुगेका छन् । परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आइपुगेका हुन् । लम्सालले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शुक्रबार एकैसाथ भ्रमण सार्वजनिक गरेका थिए ।
नेपालमा कांग्रेस-एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । विदेश सचिव बनेलगत्तै मिश्रीले पहिलो भ्रमण भने भुटानमा गरेका थिए ।
नेपाल भ्रमणका क्रममा उनले नेपाल-भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिश्री २८ साउनमा भारत फर्किने कार्यक्रम छ ।