गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीकाले वैशाख २३ गते अर्थात आइतबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि आइतबार दिउसो ३ बजेका लागि प्रदेश सभा बैठक राखिएकाे प्रदेश सभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्रीको कार्यालयबाट विश्वासको मतका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता गरिएकाे सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।
सर्वोच्च अदालतले अधिकारीको नियुक्तिलाई वैधानिकता दिएपछि उनले संविधान अनुसार वैशाख २४ सम्म विश्वासको मत लिनुपर्छ । तर १ दिन अगावै अर्थात् २३ गते विश्वासको मत लिनका लागि बैठक बोलाइएको छ ।
प्रदेश सभाबाट मुख्यमन्त्रीले विश्वास पाउन चाहिने मत ३० हो कि ३१ ? एकाथरी ३० लाई बहुमत मान्छन् भने अर्कोथरी ३१ लाई अनिवार्य ठान्छन् ।
२ सदस्य रहेको राप्रपा अहिलेको गठबन्धनप्रति लचक नहुँदा अधिकारी सरकार सकसमा परेको छ । राप्रपालाई सभामुख दिने भनेर एमालेले फकाए पनि उसले मानेको छैन । राप्रपाले सभामुख खाए अधिकारी सरकारलाई सहज वहुमत पुग्छ ।
२५ चैतमा मुख्यमन्त्री नियुक्त अधिकारीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । अधिकारीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् बिस्तारको तयारी पनि गरेका छन् । गण्डकीमा अहिले ३ सदस्यीय मन्त्रिमण्डल छ । मुख्यमन्त्रीको सपथसँगै माओवादी दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) बिनाविभागीय मन्त्री बनेका थिए । अहिले चुमानले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने मनाङे भौतिक मन्त्री छन् । सत्तारुढ दलहरु विश्वासको मत अघि नै राप्रपालाई सरकारमा ल्याउन कम्मर कसेर लागेका छन् ।
अहिले सभामुख गणना नगर्दा अधिकारीको पक्षमा ३० मत छ भने विपक्षमा कांग्रेसको २७ मत छ । राप्रपाले निर्णय लिएको छैन । राप्रपाले गठबन्धनलाई साथ दिए बहुमत पुग्छ, प्रतिपक्षमा बसे २९ सिट हुन्छ ।