वैशाख ५,
गण्डकी प्रदेश सभाको बैठक आह्वान भएको छ। बुधबार गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा बैठक आह्वान गरेका हुन्।
वैशाख ७ गते शुक्रबार ३ बजेदेखि आरम्भ हुनेगरी बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले बैठक आह्वान गरेका हुन्। यता नेपाली काग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बुधबार विज्ञप्ति जारी गरी अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै अधिवेशन आह्वान गरिएकामा असन्तोष जनाएका हुन् ।
गण्डकी प्रदेशमा सभामुखसमेतको संलग्नतामा गत चैत २५ गते खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएको विषयलाई कांग्रेसले असंवैधानिक भएको जनाउँदै गत चैत २७ गते सर्वोच्च अदालतमा रिट निवेदन दिएको थियो । यही वैशाख १० गतेका लागि पेसी तोकिएको छ ।