पोखरा ।
नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औं जिल्ला अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको पोखरा प्रदर्शनी केन्द्रमा एमाले अध्यक्ष केपी शर्माले उद्घाटन गर्ने भनिएतापनि व्यस्तताका कारण नेता शङ्कर पोखरेलले उद्घाटन गर्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए छन् ।
अधिवेशनमा कास्कीका ७२ वडा, जनसंगठन, सल्लाहकार परिषद्, तीन इलाकाका शाखा कमिटी, आयोजक कमिटीबाट गरी ९ सय ३५ प्रतिनिधिले भाग लिने पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो । अध्यक्ष गुरुङले प्रतिनिधि चयनमा महिला, जनजाति, उत्पीडित, अन्य समुदायको प्रतिनिधित्व गराउँदै सुनिश्चित गर्दै समावेशी सहभागितालाई यथेष्ट रुपमा ध्यान दिएको दाबी गरे । अधिवेशनको बन्दसत्र भने पोखरा सभागृहमा तय गरिएको छ ।
अधिवेशनलाई पार्टी महासचिव शंकर पोखरेल लगायतका नेताले सम्बोधन गर्ने जनाइएको छ । अधिवेशनको उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउन जिल्ला कमिटी, महानगर, पालिका, इलाका, वडा कमिटी तथा जनवर्गीय संगठनलाई परिचालन गरिएको छ । उद्घाटन सत्रमा झण्डै १० हजार जना उपस्थित हुने एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले दाबी गरेका छन् ।
अधिवेशनले कास्कीको भूगोल, इलाका कमिटीको प्रतिनिधित्व हुने गरी १ सय २० सदस्यीय कार्यसमिति चयन गर्ने छ । पार्टीको विधान अनुसार १० प्रतिशत मनोनित र विभिन्न पार्टीबाट समायोजन १० प्रतिशत गरी १ सय ४१ सदस्यीय जिल्ला कमिटी कास्की निर्माण हुने उनले उल्लेख गरे ।