सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन ।
ती प्रदेशमा नयाँ प्रदेश प्रमुख पनि सिफारिस गरेको छ । जस अनुसार मधेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँ सिफारिस भएका छन् ।
नयाँ नियुक्तिका लागि सिफारिस गरिएका प्रदेश प्रमुखहरू तीनैजना नेकपा एमालेका हुन् ।
झापाकी सुमित्रा भण्डारी केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला डेनमार्कको लागि राजदूत सिफारिस भएर पनि सरकार ढलेपछि नियुक्ति नपाएकी महिला नेता हुन् । प्राध्यापन पेशाबाट अवकाश पाएकी भण्डारी एमालेनिकट अखिल नेपाल महिला संघकी नेतृ हुन् ।
अर्घाखाँचीका नजिर मिया नेकपा एमालेका केन्द्रीय सल्लाहकार तथा संविधानसभा सदस्य हुन् । उनी नेपाल मुस्लिम इत्तेहाद संगठनका पूर्वअध्यक्ष हुन् ।
डिल्लीराज भट्ट डोटीका हुन् र उनी नेकपा एमालेका सल्लाहकार छन् । उनी राष्ट्रियसभाको अघिल्लो निर्वाचनमा उम्मेदवार बनेका थिए ।