१० पुस, तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले सरकारमा हुने मन्त्रीहरुले लोकप्रिय काम गरेर नागरिकले अनुभूति गर्ने गरी काम गरेर देखाउनुपर्ने वताएका छन् । उनले जन अपेक्षा अनुरुप सरकारमा भएका मन्त्रीले काम गर्न नसकेको भन्दै परिणाम आउने गरि काम गर्नुपर्ने बताएका हुन् ।
सरकारमा बस्न र मन्त्री बनाउनको लागि मात्रै सरकारमा बस्ने हो भने ०८४ मा पुग्दा जनतासंग भोट माग्ने अवसर गुम्ने भन्दै लोकप्रिय काम गरेर देखाउनुपर्ने बताए। नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँले सोमबार दमौलीमा आयोजना गरेको जिल्ला सम्मेलन एवं बीपी स्मृति भवनको उदघाटन कार्यक्रममा बोल्दै नेता पौडेलले भष्ट्राचारको अन्त्य र सुशासन दिन सक्ने परिस्थिति निर्माण गर्नु आजको मुख्य चुनौती रहेकाले यसतर्फ अग्रसर बन्नुपर्नेमा जोड दिए ।
आजको अस्तव्यस्त आर्थिक स्थिति र हामीले नेतृत्व गरिरहेका मन्त्रालयभित्रको बेथिती र बिकृती अन्त्य हुन थाल्यो भने नेपाली जनताले पुन: नेपाली काँग्रेसलाई साथ दिन सक्ने उनले बताए । बैंकमा पैसा नभएर बजारमा नआउनु भन्दा बैंकमा पैसा भएर बजारमा नआउनु ठूलो समस्या भएकाले यसको समस्या समाधानतर्फ लाग्नुपर्नेमा उनले जोड दिए ।