पोखराका एक जनप्रतिनिधि ठगी मुद्धामा पक्राउ परेका छन् । पोखरा महानगरपालिका—६ का वडासदस्य ४२ वर्षीय दीपेन्द्र पहारी सहित चार जनालाई कास्की प्रहरीले ठगी गरेको आरोपमा पक्राउ गरी मुद्धा चलाएको हो ।
पक्राउ पर्नेमा वडा सदस्य पहारी सहित पोखरा—६ लेकसाईड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, लेकसाइडकै २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार रहेका छन् ।
पक्राउ परेका वडासदस्य पहारी विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा(एमाले)बाट निर्वाचित भएका थिए । उनी हाल पोखरा वडा नं १८ सेदीबगर बसोबास गर्दछन् । त्यसैगरी विकास पहारी गएको स्थानीय तह निर्वाचनमा गठबन्धनको साझा उम्मेदवार बनेर वडासदस्यमा पराजित भएका थिए ।
पर्यटकीय क्षेत्र लेकसाइड स्थित फुटट्रायकमा फोटोग्राफी व्यवसाय दर्ता गर्ने भनेर १५ जनाबाट प्रतिव्यक्ति रु १३ हजार पाँच सय उठाएर व्यवसाय दर्तानै नगरी ठगी गरेको भन्ने पीडितको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अन्य अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।