काठमाण्डाै। काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा पूरा गरेको हो ।
यूएईले दिएकाे १ सय ६५ रनकाे लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । नेपालका आसिफ शेखले अर्धशतक बनाए । उनी ५० बलमा ६२ रन बनाएर आउट भए । यस्तै कप्तान राेहित पाैडेलले ४७ र दीपेन्द्रसिंह ऐरीले १५ बलमा नटआउट ४० रन बनाए । बलिङतर्फ यूएईका मुहम्मद जवदुल्लाहले २ विकेट लिए ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो । यूएईका बसिर अहमद र वृत्य अरविन्दले समान ४५ रन बनाए । बलिङतर्फ नेपालका साेमपाल कामी र अविनाश बाेहाेराले २/२ तथा गुलसन झा र करण केसीले १/१ विकेट लिए ।
सिरिजको पहिलो खेलमा युएई नेपालसँग ७ विकेटले पराजित भएको थियो।
यस शृङ्खलामा नेपाल यो खेलअघि नै फाइनलमा प्रवेश गरिसकेको थियो । हङकङसमेत सम्मिलित शृङखलामा नेपालले सतप्रतिशत जितसहित फाइनलसम्मको यात्रा तय गरेको हो । फाइनल खेल शुक्रबार हुनेछ।