चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध २७३ रनको बिशाल जित दर्ता गर्दा किर्तिमान नै किर्तिमान बनेका छन् ।
१) कुशल र दीपेन्द्रको विश्व कीर्तिमान : सर्वाधिक छिटो शतक र अर्धशतक
कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले सबैभन्दा कम बलमा शतक र अर्धशतक पुरा गर्ने विश्व कीर्तिमान बनाएका हुन् ।
कुशलले ३४ बलमा शतक पुरा गरेका थिए । यसअघि ३५ बलसम्म टी-२० अन्तर्राष्ट्रिय शतक बनाएको इतिहास थियो । यस्तै दीपेन्द्रले ९ बलमै अर्धशतक पुरा गरे ।दीपेन्द्रले आफूले सामना गरेका लगातार ६ बलमा ६ छक्का प्रहार गरेका हुन्।
भारतका युवराज सिंहले १२ बलमा अर्धशतक पुरा गरेर बनाएको विश्व कीर्तिमान कसैले तोड्न सकेको थिएन। उनले सन् २००७ मा इङ्ल्यान्डविरुद्ध उक्त सफलता प्राप्त गरेका थिए ।
२) अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक ठूलो लक्ष्य
चीनमा जारी एसियन गेम्समा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको मंगोलियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्र्दै निर्धारित ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनायो ।यो अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक ठूलो लक्ष्य दिएको छ । यसअघि अफगानिस्तानले ३ विकेटमा बनाएको २७८ रन नै पहिलो कीर्तिमान रहेको थियो । अफगानिस्तानको रेकर्डलाई नेपालले तोडेको हो ।
३) टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो अहिलेसम्मकै फराकिलो जित
एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो अहिलेसम्मकै फराकिलो जित हो ।
यसअघि चेक गणतन्त्रले टर्कीमाथि २५७ रनको जित हात पारेर रन अन्तरको हिसाबमा सबैभन्दा फराकिलो जितको विश्व कीर्तिमान बनाएको थियो ।