Latest
अर्को
Prev

बृद्धाश्रमबाट छोरालाई चिठी!

सेयर गर्नुहोस

समिक्षा बराल


बाबु,
तिमीलाई कस्तो छ? बुहारी कस्ती छन्? नाती कत्रो भयो? आमा सम्झन्छ कि बिर्सियो होला? थाहा छ कि यो चिठीको पनि अघिल्लो २५ चिठी जसरी नै मैले जवाफ पाउँदिन । तर,पनि यहीं वृद्धाश्रममा भेटिएकी संगी यशोधासँग चिट्ठी लेख्न माग्दै यो लेख्दै छु ।
सबैले ‘आमै मुबाइल किन, त्यसैबाट चिठ्ठी पठाउ’ भन्दै छन् तर म बुढीलाई त्यस्तो चिज के काम । आफ्नो ख्याल राखेस् बाबु । मेरो चिन्ता नगरेस। म यहाँ आरामै छु । नातीले आमा खोजे आउँछिन् भनेर सम्झाएस् ।
उही तिम्री,
आमा
“चिठी सकियो त रमा, कहिले पठाउन राखिदिउँ ?”
“आजै राखिदेउ न, बाबुलाई न्यास्रो लागेको होला” मैले आँखाको डिल पुछ्दै यशोधालाई भनेँ ।
“तपाईको माया पनि बुझिनसक्नुको छ ।” यशोधाले चिट्ठी पट्याएर डायरीमा राख्दै बर्बराउन लागिन् “छोराले छाडेदेखि एक पटक भेट्न आएको छैन । भेट्न त आएन आएन, बेला बेला हालखबर सोध्न त सक्छ प्रभा नानीलाई फोन गरेर, त्यो पनि छैन । तपाईं भने सम्झदै रोएर बस्नुहुन्छ । हैन यस्तो माया तपाईंले ऊ सानो हुँदा देखाउनु भएन कि के हो?”
यशोधाको कुराले मलाई झस्कायो । लाग्यो कि एक तन्द्रामा भएकी मलाई एक तिखो सियोले घोचेको होस् । तर त्यो तिखो सियोले मलाई मानौं एक लठ्याउने सुइ जसरी लठ्याएर अतितमा पुराइदियो ।
“बधाई छ, हजुरको छोरा भएको छ ।“ यही वाक्यको पर्खाइमा जन्मिएका थिए हाम्रा ५ छोरीहरु तर उनीहरुको जन्ममा देख्ने निन्याउरो मुखमा यसपाली धपक्क दियो बलेको थियो, मेरो श्रीमानको ।
घर पुग्दासम्म आफ्नो उत्साह रोकेर राखेका उनले घरमा टेक्ने बित्तिकै मलाई भने, “सुन्यौ, हामी पनि अब छोराका आमाबाबु भयौं । हाम्रो बुढेसकालको सहारा, हामीलाई स्वर्गको ढोका खोल्ने दूत जन्मिएको छ । ए, त्यसरी नलिनु के, उसलाई अप्ठेरो भए जस्तो छ, हेर त रुन लागेको, लेउ म लिन्छु ।” उनलाई त्यति खुशि मैले शायदै आजसम्म देखेकी थिइन।
जुनसुकै सन्तान जन्माए पनि आमा बुवाले अलि बढी नै ख्याल गरेका हुन्छन्, त्यसबाट हामी पनि च्यूत थिएनौँ । नौ महिना गर्भमा रहँदा एक-एक कुराको ख्याल गरि आफ्नो सन्तानको रक्षा गर्नु यो गर्दा उसलाई केही हुन्छ कि भन्दै आफुलाई मन लागेको काम नगर्नु, खान रहर लागेको कुरा नखानु, मन नलागेको कुरा खानु (सन्तानको लागि), पहिलो प्राथमिकतामा सन्तानलाई राखेर आफ्नो आवश्यकतालाई पनि मारेर सन्तानको लागि चाहिने खर्चको जोहो गर्नु (जन्म अगावै) ; यो कुरा जति असामान्य भएपनि आमाबुबा हुनेको लागि सामान्य नै हुने गर्दछ ।
सन्तानलाई आमाले ९ महिना गर्भमा बोकेको कुराको त सबैले बयान गरेको पाइन्छ तर यो कुरा आमाबुवा हुनेले मात्र महसुस गर्छन् कि आमाबुवाले सन्तानलाई दिनको ८ प्रहर नै वा भनौ २४ घण्टा नै आफ्नो मन मस्तिष्कमा बोकेका हुन्छन जन्म अगावै ।
जन्म पछि त छोरा प्रदिपको स्याहारमा के कमी हुन्थ्यो र ! हरपल प्रदिपको चिन्तामा डुबेका हुन्थ्यौं हामी । अलि धेरै बेर निदाए पनि चिन्ता ननिदाए पनि चिन्ता, धेरै खाए पनि बान्ता गर्ला भन्ने चिन्ता, नखाए झन् बढी चिन्ता, रोएर नसताएपनि किन रोएन भन्ने चिन्ता, धेरै रोए झन् मेरो मन कति आतिन्थ्यो कति । पहिलो सन्तान नभए पनि हाम्रो पहिलो सन्तान सरि थियो ऊ ।
हिँड्न नसक्ने बेलामा एक छिन् एक्लै नछोड्नु देख हिँड्न थाले पछि चोट लाग्न नपाउँदै मलम निकाल्नु र बाहिर गएर खेल्ने उमेरमा पुगेपछि अलि ढिलो घर आए मनमा सोँच्न हुने नहुने सबै कुरा सोचेर छाती चर्काउने गर्थे म ।
छोरा ठुलो हुँदै जाँदा हामीसँग झर्कन थाल्यो । उसलाई आफ्ना साथीहरु नै बढी प्यारा लाग्न थाले । हाम्रो सम्झाई उसलाई गाली जस्तो लाग्थ्यो, हाम्रो स्याहार-सुसार उसलाई नाटक लाग्थ्यो, उसको साथी नजिक आउँदा हाँस्ने ओठ हामी नजिक जाँदा खुम्चिएका निधारमा परिणत हुन्थे । तर पनि प्रदिपको बुवा र म छोरा हुर्किएकोमा खुशी नै थियौँ । उसको झर्काईले कहिल्यै चित्त दुखाएनौँ । समय सँगै झर्काइ रोकिन्छ, छोरा परिपक्क हुन्छ भन्ने आशामा थियौं हामी । आखिर उसलाई पनि त ज्ञात होला ती रातहरुको जुन उसको स्याहारमा अनिदो नै बितेका थिए, त्यो भोको पेटको जुन उसको चिन्ताले भरिनबाट बिञ्चित भए, त्यो थकित शरिरको जसको थकाई भन्दा हामीलाई उसको स्थितिको प्रवाह हुन्थ्यो र ती ओठको जुन उसलाई खुशी बाड्दा-बाड्दै आफु हाँस्न बिर्सिसकेका थिए; यी कुराको ज्ञात नभए पनि उसले पक्कै यतिसम्म त चाल पायो होला कि हाम्रो मनमा उसको लागि कति धेरै माया छ, भन्ने सोंचेका थियौँ हामीले ।
तर !
तर त्यो झर्काइ बिस्तारै घृणामा परिणत भएको महसुस त्यो बेला भयो जब उसले घरमा बुहारी लिएर आयो । त्यसमा म बुहारीलाई केही दोष दिन्न । छोराले चाहेमा बुहारीले रोक-तोक गर्ने केही बाटो नै हुने थिएन । बरु उल्टै नजिक हुन खोजेकी बुहारीलाई उसले पर जान अर्याउँथ्यो ।
बुढेसकालको साहारा जन्न्मएकोमा गर्वले फुलेको मेरो श्रीमानको छाती सुक्दै जाँदै थियो । स्वर्गको ढोका खोलिदिने मानिएको छोराले हाम्रो लागि पृथ्वीमा नै नर्क देखाइदिएको थियो ।
विवाहको गाँठोले छोरा ‘म’ बाट ‘हामी’ त भयो तर हामी भने ‘हामी’ बाट ‘म’ मा परिणत भयौं । म बिधवा भएँ । झर्काईबाट घृणामा परिणत भएको त्यो व्यवहार अब तिरष्कारसम्म पुग्यो ।
पहिले बुढा हुँदा मैले उहाँलाई दिन नपाएको कैयन उपहार उहाँको अभावमा याद आउन थाले । उहाँले पुरै घरको जिम्मेवारी लिँदा मैले उहाँलाई हौसला सम्म त दिन सक्थें, उहाँ थाकेर घर आउँदा चियासँग र बिहान बेलुकाको खानासँग मुस्कान पनि त पस्किन सक्थेँ, उहाँ समस्यामा पर्दा तनाब बढाउने काम नगरि ‘सबै ठिक भइहाल्छ नि भनेर आश्वासन सम्म त दिन सक्थेँ । मैले उहाँलाई प्रेम त गर्दथेँ तर केही जिम्मेवारीको भारले त केहि अनविज्ञताले गर्दा जनाउने अवसर पाइन जसको पछुतो उहाँ गएपछि हरेक दिन हुने गर्दथ्यो।
मलाई छोरा बुहारीको भिन्न व्यवहार पनि सामान्य नै लाग्न थालेको थियो । उनीहरुको तिरष्कारमा पनि घुलमिल भइ सकेको मेरो मन तब रोयो जब एक दिन छोराले मलाई वृद्धाश्रम मा ल्याएर छोड्यो ।
उसको एक आग्रहमा हातमा मिठाई थमाइदिने ‘म’ कति रोएँ, कराएँ, तर उसले मेरो लाख बिन्ति सुनेन । छोरीहरु त बिहेवारी भइ आफ्ना घर गए। तर छोराले मलाई बेघर बनाइदियो।म चुपचाप बृद्धाश्रमलाई आफ्नो घर मान्न थालेँ।


चुपचाप सहनुको अलावा अरु विकल्प नै के थियो र ! औंला समाएर ताते-ताते गर्दै हिँड्न सिकाएको छोराले मेरो खुट्टा डग्मगाउँदा मेरो सहारा बन्नुको सट्टा मलाई नै घरबाट निकालिदियो । को-खाइ को-खाइ भन्दै खान सिकाएको ‘मेरो’ आहारा उसको लागि ठुलो भयो आज । उसको लागि सारा संसारसँग लड्न सक्थेँ म । तर उसले आफ्नो संसारबाट मलाई अलग गराउन ठिक मान्यो । ऊ एकछिन रुँदा पनि मेरो मन छिया-छिया हुने गर्दथ्यो तर उसले मेरो रुवाइलाई नाटकको दर्जा दियो । उसैको आशमा छ जना सन्तान जन्माएर कमजोर भएको शरिरको कमजोरी उसैलाई देखेर भुल्ने गर्दथ्येँ म तर उसले पुरानो रेडियो मिल्काए सरि मिल्काइ छाड्यो मलाई । आफुबाट एकछिन अलग नगराइ हेरचाह गरि पालेको मेरो छोराले आज मसँग बस्नुलाई बन्धन मान्यो र आफू खुला आकाशमा उड्छु भन्दै मलाई बृद्धाश्रममा कैद गररदियो ।
आमाको मन न हो, सन्तान जति निष्ठुरी भए पनि यो मन कठोर हुँदैन रहेछ । आफूले नसके पनि संगीको सहाराले हरेक हप्ता एउटा चिट्ठी लेख्छु छोराको न्यास्रो मेटाउन, तर उसले व्यस्त भएर होला सनयद, यहाँ छाडेदेखि एक चोटि हेर्न सम्म आएको छैन । त्यो नाती सानो हुँदा देखेकी, कस्तो भयो देख्न पनि पाएकी छैन ।


“ए ! खाना खाने बेला भएछ, जाऊ खाना खान । म यो चिट्ठी प्रभा नानीलाई दिएर आउँछु ।” यशोधाको आवाजले मलाई वर्तमानमा तानेर लिएर आयो ।
बृद्धाश्रममा खाना नास्ता खाने बेला हुँदा पनि म प्रदिपलाई नै सम्झने गर्दछु । व्यवस्ताले खाना त खान भ्यायो होला कि भ्याएन होला भन्ने सोंचले नै मेरो घाँटिमा गाँस अड्कन्छ । जे जसो भए पनि जसोतसो म त यहिँको वातावरणमा घुल्मिल्दै छु तर नातीले उसले मलाई गरे जस्तो
व्यवहार नगरोस् भनि हर दिन भगवान सामु प्राथना गर्ने गरेकी छु । ऊ मेरो छोरा नहोला तर म उसको आमा न परेँ ।


(साभार)


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist