५ भदौ, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले आफूले सक्रियता देखाउन नखोजेको स्पष्ट पारेका छन् । मंगलवार शीतल निवासमा बसेको सर्वदलीय बैठकमा उनले देशप्रतिको चिन्ताका कारण सबैसँग भेट गर्न खोजेको प्रष्टीकरण दिएका हुन् ।
एक्टिभिज्म देखाउन खोजेको होइन । म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ । त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो,’ बैठकमा उनले भने, ‘विभिन्न कारणले तपाईहरू सबैसँग भेट पनि हुन सकेको थिएन । तपाईहरूसँग भेटेर राष्ट्रको चिन्ता गरौं भन्ने पनि थियो ।’
राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो । संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डसँग छलफल चलिरहेकोले राष्ट्रपतिले बोलाएको बैठकको औचित्य नभएको भन्दै एमालेले बैठक बहिस्कार गरेको हो । एकातिर प्रयत्न भइरहेका बेला राष्ट्रपतिले बैठक बोलाएपछि एमाले अध्यक्ष ओलीले आपत्ति जनाएका थिए ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार बैठकमा उनले संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको बताएका थिए ।