२३ साउन, तनहुँ । व्यास नगरपालिका–५ पतेनीका २३ वर्षीय रुपेश नेपालीलाई तनहुँ समाज हङकङले आर्थिक सहयोग गरेको छ । नेपालीको उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले समाजले .चार लाख साठी हजार आर्थिक सहयोग गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरे तथा तनहुँ समाज हङकङका पूर्व अध्यक्ष द्धय जंग बहादुर थापा र भीमराज गुरुङले संयुक्त रुपमा पीडितका बुबा रामबहादुर नेपालीलाई उक्त रकम सहयोग गरेको हुन् ।
समाजका सल्लाहकार कर्णबहादुर नेपालीको संयोजकत्वमा विभिन्न सिलसिलामा हङकङ पुगेका ४९ जना तनहुँङ्गेबाट संकलन भएको रकम प्रदान गरेको तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भीमराज गुरुङले बताए । पीडित रुपेशको एक महिना अघि मात्र भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट मृगौला प्रत्यारोपण गरिएको हो । उनलाई बुबा रामले मृगौला दान गरेका थिए ।
रकम हस्तान्तरणका क्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी कशी राम गैरेले गम्भिर प्रकृतिका रोग लागेका नागरिकको उपचारमा राज्यले पनि ठुलो राहत उपलब्ध गराउन नसकिरहेको अवस्थामा समाजले गरेको सहयोग प्रसम्सनिय रहेको बताए । समाजका पूर्व अध्यक्ष थापाले पीडित परिवारबाट प्राप्त निवेदनका आधारमा रकम संकलन गरि उपचारमा सहयोग गर्दै आएको बताए । समाजका अर्का पूर्व अध्यक्ष भीमराज गुरुङ्गले हङकङमा रहेका तनहुँङ्गेहरुको एकताकै कारण ठुलो रकम संकलन गरि पीडितलाई राहत रकम उपलब्ध गराउन सफल भएको जानकारी दिए । समाजले बाह्र वर्षदेखि निरन्तर तनहुँको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको समाजका कार्यक्रम संयोजक प्रदीप काफ्लेले जानकारी दिए ।