काठमाडौँ — मछिन्द्र फुटबल क्लबले भुटानको पारो एफसीविरुद्ध दशरथ रंगशालामा साउन २३ मा हुने एएफसी कप २०२३ प्ले–अफ छनोटको प्रारम्भिक चरणका लागि आठ नयाँ खेलाडी भित्र्याएको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १८ गोल गरेका मेसुके ओलोमोउसहित आशिष चौधरी, एरिक विष्ट, आयुष घलान, लाकेन लिम्बू, सनिश श्रेष्ठ, रेजिन सुब्बा र रोहित सुब्बालाई अनुबन्ध गरेको मछिन्द्रले सोमबार आयोजित कार्यक्रममा जानकारी दिएको हो । क्लबका उपाध्यक्ष अनिल श्रेष्ठका अनुसार उनीहरूलाई एएफसी कप छनोटका लागि भित्र्याइएको हो । उनले भने, ‘एएफसी कपमा हामी कहाँ पुग्छौं, त्यहीसम्म खेल्ने गरी एक वा दुई महिनाका लागि अनुबन्ध गरिएको हो ।’