३१ असार, काठमाडौ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले विद्यार्थीहरुलाई आफ्नो रुचि अनुसार विषय छनोट गर्न र त्यसमै केन्द्रीत भएर आफ्नो लक्ष्य प्राप्त गर्न आग्रह गरेका छन् । दिएक । उनले भविष्यको नेतृत्व पनि अहिलेको पुस्ता भएको धारणा राख्दै राजनीतिमा युवा सहभागिता अनिवार्य भएको बताए । परिवर्तन अभियान नेपालले काठमाडौँको तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण छात्रछात्रालाई सम्मान कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।
शनिबार राजधानीको नेपालटारमा आयोजित कार्यक्रमका बीच सामुदायिक र संस्थागत विद्यालय तथा छात्रछात्रालाई सम्मानित गरिएको थियो। यस वर्षको एसईईमा संस्थागत विद्यालयबाट छात्रातर्फ रश्मि पोख्रेल, सहारा लोहनी र आकृति सुनार ४.० जीपीए ल्याएर सर्वोत्कृष्ट भएका उनीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । यस्तै छात्रतर्फ जेशन नेपाललाई पनि विशेष सम्मान गरियो । यस्तै सामुदायिक विद्यालयबाट शीला नेपाल र किरण घिमिरे सर्वोत्कृष्ट रहेकामा उनीहरुलाई पनि सम्मानित गरिएको हो । यस्तै पालिकाभरबाट एसईईमा सफल सबै छात्रछात्रालाई प्रमाणपत्र हस्तान्तरण गरिएको अभियानका संयोजक सुशील भट्टले जानकारी दिए । कार्यक्रममा सहभागीहरुले एसईईमा सफल विद्यार्थीलाई आफ्नो भविष्य निर्माणमा केन्द्रित हुन सुझाव दिँदै नम्बरको आधारमा भन्दा पनि रुचिको आधारमा आगामी अध्ययनको विषय छनौट गर्न भट्टले सुझाव दिए । उनले परिवर्तन नेपाल शिक्षा, स्वास्थ्यसहित सामाजिक र जनसरोकारका विषयमा निरन्तर क्रियाशील भइरहने बताए ।
यस्तै तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले शिक्षाको क्षेत्रमा नगरपालिकाले क्रमशः सुधारका कार्यक्रमहरु अघि सारेको बताए । उनले हरेक परिवर्तन शिक्षामार्फत नै हुन सम्भव रहेको उल्लेख गर्दै नगरपालिकाले सोहीअनुसार बजेट वृद्धि गर्नेदेखि विभिन्न माध्यमबाट शैक्षिक क्षेत्रलाई प्राथमिकता दिएको बताए । यसैगरी काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले विद्यार्थीहरुलाई देशभित्रकै योग्य जनशक्ति बन्न सक्नेगरी उच्च शिक्षा अध्ययन गर्न सुझाव दिए । उनले कतिपय विद्यार्थीमा बिदेसिने मानसिकता रहेको उल्लेख गर्दै स्वदेशमै आफूलाई प्रमाणित गर्न सक्नेगरी भविष्यको रेखा कोर्न सुझाव दिए । कार्यक्रममा तारकेश्वर क्षेत्रका जनप्रतिनिधि, शैक्षिक क्षेत्रका प्रतिनिधि, समाजसेवीलगायतको सहभागिता थियो । सो अवसरमा विभिन्न कलेजहरुले कार्यक्रमस्थल परिसरमा आ–आफ्नो स्टल राखेर एसईईपछिको अध्ययनबारेमा शैक्षिक परामर्श पनि दिएका थिए ।