पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ ।
चीनकाे सहयाेगमा बनेर ६ महिना अघि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलाे पटक चीनबाट नै अन्तर्राष्ट्रिय व्यवसायिक उडान गरिएकाे छ । अङ्ग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आएको विमानस्थलमा चीनको ‘सिचुवान एयरलाइन्स’ले बुधबार पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान गरेको हो । तर, यो नियमित उडान होइन । चार्टर उडान मात्रै हो ।
चीनबाट उडेको एयरलायन्सले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० जना यात्रु बोकेर पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
चीन भ्रमणमा सहभागी सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशंकर चौधरी र जीवन परियार पोखरा अवतरण गरेका हुन् ।
अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा साता लामो जेठ २७ गते चीन भ्रमणमा गएका थिए ।
अङ्ग्रेजी नयाँ वर्षबाट उडान सुरु भएको उक्त विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन ।