गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट ल्याएको छ ।
प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री जितप्रकाश आलेले आगामी वर्षका लागि रु ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट प्रस्तुत गर्नुभयो । कुल बजेटमा चालुतर्फ रु १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार विनियोजन गरिएको छ ।जुन कुल बजेटको ३८ दशमलव एक प्रतिशत हो
त्यसैगरी पूँजीगततर्फ रु २० अर्व १९ करोड चार लाख ६२ हजार छुट्टाइएको छ । पूँजीगत तर्फको बजेट ६० दशमलव ४ प्रतिशत हुन आउँछ । यसैगरी वित्तिय व्यवस्थापनतर्फ रु ५० करोड विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षमा खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६२ करोड २५ लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ५ करोडको अनुमान गरिएको छ । रोयल्टी बाँडफाँडबाट ४० करोड, सशर्त अनुदानतर्फत ४ अर्ब ९४ करोड, समपूरक अनुदानतर्फ ८४ करोड, विशेष अनुदानतर्फ ७० करोड प्राप्त हुने अनुमान अर्थमन्त्री आलेले प्रस्तुत गरे ।
प्रदेशको आन्तरिक स्रोतबाट राजश्वबापत ५ अर्ब १६ करोड ९१ लाख संकलन हुने अनुमान गरिएको छ । साथै चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनबाट ३ अर्ब नगद मौज्दात रहने अनुमान अर्थमन्त्री आलेको छ ।
प्रदेश सरकारले चालू आवमा रु ३५ अर्व ९० करोड ९० लाख बराबरको बजेट ल्याएको थियो । चालू आवको तुलनामा आगामी आवको बजेट रु दुई अर्ब ४८ करोडले न्यून हो ।