कमल खनाल
सन् २०१४ सेप्टेमबर ७ मा म दक्षिण कोरियाको इन्च्योन पुगेको थिए। छोटो समयको यात्रा रमाइलो हुन्छ तर पूर्ण हुदैन। कोरियाको यात्रा पनि त्यस्तै भयो। दुःख केहि थिएन र भएन पनि। जाने,बस्ने र खाने सरकारी व्यवस्था थियो। जिम्वेवारी पनि त्यतिकै थियो।
कोरियाका बारेमा मलाइ धेरै नै उत्सुकता थियो। हेर्ने र बुझ्ने। कुनै समयमा नेपालीहरूले कोरियाको भोकमरीलाइ टार्न खाद्यान्न सहयोग गरेर गुन लगाएको धेरै बर्ष बितेको थिएन।
मैले मन भरि त्यो कोरियाको सम्झना गर्दै यात्रा गरिरहे। तर कोरियाले आर्थिक विकासमा ठूलो फड्को मारेको बारेमा पनि जानकारी थियो। नेपालीहरू कोरियामा काम गर्न जान लालयित हुने गरि कोरियाले विकास गरिसकेको थियो। तर मेरो मनले त्यो कोरिया र यो कोरियाको तुलनात्मक सम्झना बोकेर यात्रा गरिरहेको थिए।
इन्चोन शहरमा आयोजना भएको १४ औ एसियन खेलमेलामा सहभागि हुन कोरियाको यात्रामा थिए। दक्षिण कोरियाले यस भन्दा पहिला नै १९८६ मा सिओल, २००२ मा बुशान शहरमा एसियन खेल सम्पन्न गरि सकेको थियो। तेस्रो पटकको आयोजना झनै व्यवस्थित किसिमले सम्पन्न गर्दै थियो। नेपालबाट दक्षिण कोरियाको यात्रा त्यति टाढाको रहेनछ। नेपाल र कोरियाको आकाशे दुरी ४१६५ कि मी अर्थात २५८८ माइल्स रहेछ। ६ घण्टा २० मीनटको समयमा नै कोरिया पुगिने रहेछ।
जब कोरिया पुगियो,कोरियाको विकासका बारेमा अझै बुझ्ने रहर बड्यो । कोरियाको विकास मेरो कल्पना भन्दा बाहिर रहेछ। मेरो सोचमा नेपालले सहयोग गरेको मुलुक भन्ने थियो। फेरि मैले एशियाका जापान र अष्ट्रेलिया जस्ता विकसित भनिएका मुलुकको यात्रा समेत गरिसकेको थिए। त्यहाँको विकास देखिसकेको थिए। कोरियालाइ मैले जापान र अष्ट्रेलियको दाजोमा राखेको थिइन। देखे पछि ,थाह भयो कोरियाले गरेको विकास जापान र अष्ट्रेलियाको हाराहारीमा पुगिसकेको रहेछ।
२५ जुन १९५० मा जब उत्तर कोरियाले साउथ कोरिया माथि आक्रमण गर्यो त्यस पछि सुरू भएको रहेछ सिभिलवार। उक्त सिभिलवार १९५३ सम्म चलेको रहेछ सिभिलवार हुनुको मुख्य उद्देश्य वार जितेर एकिकृत कोरियामा कम्युनिष्ट शासन चलाउने रहेछ। त्यो अभियानलाइ सोभियत रूस र चाइनाले उक्साइरहेका रहेछन।
दुइकोरिया बीच भएको सिभिल वारमा ठूलो संख्यामा कोरियनहरूको मृत्यू भएको रहेछ। कोरियन सिभिलवारमा धन्नै ४ मिलियन कोरियनहरूको मृत्यू भएको र त्यसमा ७० प्रतिसत सिभिलियनहरूको मृत्यू भएको रहेछ। कोरियन वारमा ४०,००० अमेरिकन सेनाको समेत मृत्यू भएकोरहेछ। कोरियन सिभिलवार पछाडि अर्थात साठीको दशकमा नेपालले कोरियालाइ खाद्यान्नको सहयोग गरेको रहेछ त्यतिबेला कोरिया संसारको गरीव देशको सूचिमा अन्तिम तिर पर्ने रहेछ।
कोरियनहरूको बार्षिक प्रतिव्यक्ति आय हाइटीको बराबर रहेछ हाइटी गृहयूद्धले थकित भएको मुलुक थियो । जब सिभिलवार समाप्त भयो दुइ कोरिया बीचको शान्ति सम्झौता भयो त्यस पछिका १२ बर्ष अर्थात १९६० देखि साउथ कोरियामा मिलिटरी शासन सुरू भएको रहेछ। जस्को नेतृत्व ‘पार्क चुगं ही’ ले गरेका रहेछन्। त्यस पछि उनले मुलुकको द्रुत रूपमा बिकास गर्नका लागि कृषि उत्पादन ,उद्योग र निजी उद्यमशिलतालाइ प्राथमिकतामा राखेर आर्थिक बिकासमा जोड दिएका रहेछन।
सन् १९९६ मा आइपुग्दा त कोरियाले बिकसित राष्ट्रको स्थान ओगटिसकेको रहेछ। जम्मा १२ बर्षको समयमा दक्षिण कोरियाले गरेको प्रगति संसारकै नमुना बनेछ। हिजो कोरियालाइ खाद्यान्न सहयोग गरेको देश नेपाल आज कोरियाको १९६० को दसकको अबस्थामा छ। आज त्यहि कोरियाले नेपाललाइ सहयोग गरिरहेको छ।
इनचोन दक्षिण कोरियाको मुख्य आर्थिक गतिबिधि भएको शहर र ट्रान्सपोटेसनको हबका रूपमा चिनिदो रहेछ। इनचोनमा हेर्नै पर्ने धेरै सुन्दर पार्कहरू रहेछन। त्यस्तै आइसल्याण्ड र बीचहरू थुप्रै रहेछन। इन्चोन आइसल्याण्डहरूले घेरिएको शहर रहेछ। अझ सुन्दर र हेर्नै पर्ने इन्चोन ब्रीज रहेछ रातीको समयमा रंग परिवर्तन गरेर दिने शौन्दर्य बिशिष्टखालको र अतिनै लोभलाग्दो दृश्य सहितको आर्टिष्टिक ब्रीज रहेछ।
जुन ब्रीज कोरियाको (२१.३८ किमी १३.२८ माइल्स ३३.४ मि चौडाइ २३०.५ मी अग्लो )सबै भन्दा लामो पुल रहेछ। यो केवलबाट निर्माण गरिएको बिश्वको पाँचौ पुल रहेछ। दक्षिण कोरियाको उत्तर पश्चिम भागमा रहेको इनचोन शहर कोरियाको मुख्य प्रवेसद्धार मानिने रहेछ। अर्को आकर्षक रहेछ कोरियामाको प्रसिद्ध टावर ,जुन टावर दृश्याबलोकनका लागि ४० बर्ष अगाडि बनाइएको “नामसान सिउल टावर “कोरियाको प्रतिष्ष्ठा रहेछ त्यस्तै अर्को ‘लोटे वल्ड टावर’ ५५५ मी १५२१ फिट र १२३ तले टावर पनि रहेछ भने इनचोनमा ४९२ फिट ,१५० मी अग्लो ३३ तला भएको ‘जी टावर’ पनि हेर्न छुटाउन नहुने रहेछ।
म इनचोन एसियन खेलकुदमा सहभागिता का लागि गएको थिए। नेपाली खेलाडीहरूको प्रदर्शन त्यति राम्रो भएन। कराते तर्फ एउटा कास्य पदक प्राप्त भयो। प्लेनको समय नमिलेको कारण समयमा खेल स्थल पुग्न नसकेको तितो अनुभव पनि रह्यो। नेपाली खेलाडीहरू बिकसित मुलुक पुगेपछि आफ्नो भबिष्य प्रतिको सोचले छट्पटाइ रहेको पाइन्थ्यो। केहि त उतै बसे।
हाम्रा धेरै कुरामा कम्जोरीहरू थिए। आन्तरिक ब्यबस्थापन कम्जोर हुदाँहुदै पनि अन्तर्राष्ट्रिय सम्बन्धका कारणबाट सहभागिता सुनिश्चित गरिएको थियो। इन्चोन एसियाडमा खेलाडी र अफिसियलहरूको बसोबासका लागि ठूला बिल्डिङ्ग बनाइएका थिए।थ्रीस्टार होटलले दिने सुबिधा सरहका रूमहरू तयार गरिएका थिए। मेरो रूम चौथो तलामा थियो।
नेपाली खेलाडी र अफिसियलहरू आ्फ्नो खेल समाप्त भए पछिका दिनमा रेलको यात्रा गरिहाल्थे। २७.४ किमी को दुरी थियो इन्चोन देखि सिओल सम्मको। ५० मीनटको यात्रा गरे पछि सिओल पुगिने रहेछ। ट्रेनको सुबिधा थियो। कोरियनहरूको सुलभ यात्रा नै ट्रेनको यात्रा हुनेरहेछ।
कोरियनहरू घरमा भन्दा ट्रेनमा बढी सुत्ने र निद्रा पुर्याउने रहेछन। कतिको त राति सम्म काम गर्नु पर्ने भएकोले पनि ट्रेनमा नै निद्रा पुर्याउने रहेछन्। जापानीहरू जस्तै कोरियनहरू पनि असाध्यै मेहनती रहेछन। इमान्दार र अनुशासित रहेछन।अझै पनि दक्षिण कोरियाका जन जनमा समेत उत्तर कोरिया प्रतिको घृणा जिवित नै रहेछ १९५० को सिभिलवारको प्रभाव २०१४ सम्म परिरहेको पाइन्थ्यो।
हामीलाइ साइटसिनका लागि दक्षिण कोरियाको दुइ ठाँउमा लगियो। पहिलो डिमिलिट्राइज जोन अर्थात असैनिकीकृत क्षेत्र नजिकै लगियो ,त्यहाँ एउटा ठूलो भवन थियो। त्यहाँ पुग्ने हरेक मानिसहरूले दुइ कोरियाको एकिकरण र शान्तिका बारेमा आफ्ना बिचार लेख्दा रहेछन। त्यहाँ वाइनाकुलर पनि जडान गरिएको रहेछ।
साउथ र नर्थ कोरियाको वीचबाट “इमजीन रिभर”शान्त र धैर्यताका साथ बगिरहेको देखिन्थ्यो। साउथ कोरियाको भागबाट वाइनाकुलरको सहायताबाट उत्तरकोरियाको भाग देख्न सकिन्थ्यो। बिषेश गरी “किमइल सुगं”को जन्मस्थान देखाइन्थ्यो। वाइनाकुलरबाट देखिने सबै ठाँउहरू सुख्खा र इट्टाभट्टा जस्तो रातो माटो भएको देखिन्थ्यो। नदीको वारी हराभरा जमीन देखिन्थ्यो भने नदीपारी पुरै सुख्खा जमीन देखिन्थ्यो। दुइ कोरिया बीचको बिकासको अन्तर देखाउनकै लागि त्यहाँ लगिएको मैले महसुस गरे।
दोस्रो ठाँउ थियो ठूलो र फराकिलो चउर जसलाइ राम्रोसँग संरक्षण गरिएर राखिएको थियो। जहाँ दुइसाइडमा ठूलाढुङ्गा राखिएको तिनै ढुङ्गा माथि अर्को ठुलो ढुङ्गालाई छानो बनाएर राखिएको थियो। हामी पहाडे जीवनमा हुर्किएका ,ठुलाढुङ्गा माथि चड्दै, उफ्रदै र खेल्दै हिडेको मानिसलाइ झट्ट हेर्दा त्यो ढुङ्गेघरले मेरो मन तानेन तर त्यो ढुङ्गेघरले कोरियाको इभोलुसनको सन्देश बोकिरहेको रहेछ।
कोरियनहरूले कोरियाको बिकासको गतिलाइ त्यो यूग र यो यूग बीचको तुलनात्मक रूपमा शादृश्य झल्काइएको रहेछ।आजसम्मको कोरियन रिभुलोसन र इभोलुसनका बारेमा समेत यो ढुङ्गे घरले बताइ रहेको थियो। आदिमकालमा मानिसहरू कसरी बस्दा रहेछन। उनिहरूको चेतनाको स्तर र बिकासको अबस्थाको बारेमा देखाउन लगिएको रहेछ। आजको कोरियामा रमाउनेहरूलाइ त्यो कोरियाको दर्दनाक दृश्य पनि हेर भनेर संदेश दिन खोजिएको मैले अनुमान लगाए। हेर्दा केही नदेखिने तर सिंगो ईतिहासलाइ जीवित राखेको ढुङ्गेघर रहेछ। सानो बिषयले ठूलो महत्व बोकेको रहेछ।
(लेखक राष्ट्रिय खेलकुद परिषद्का सेवा निवृत्त बरिष्ठ अधिकृत हुन्।)