३१ वैशाख, तनहुँ ।
पानीको ईनारमा परी एक युवको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका– ७ का २७ वर्षीय बिपिन भन्ने छत्र बहादुर आले रहेका छन् । व्यास नगरपालिका– १३ पोखरीभञ्ज्याङ स्थित मान बहादुर आलेले संचालन गर्दै आएको सुमन सचिन पोल्ट्री फार्ममा काम गर्दै आएका आले पानीको इनार सफा गर्न जाँदा अक्सिजनको कमीका कारण इनारमै बेहोस अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहन बहादुर खाँणले जानकारी दिए ।
ईनार भित्र पसी सफा गर्ने क्रममा अक्सिजनका कमीका कारण अचेत अवस्थामा रहेकाले उनलाई तत्कालै नेपाली सेनाको उद्दार टोलीले उद्धार गरी अस्पतालमा पु्र्याएको थियो । ‘उनको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो,’ उनले भने । घटनाको सम्वन्धमा थप अनुसन्धान भैरहेको छ ।