पोखरा ११ मा रहेको कालिखोलादेखि काहुँकोट सम्म जाने फुटट्रयाक शिलान्यास भएकाे छ । बुधबार फुलबारी मणिपाल काहुँ धरहरा सिढीं बाटो निर्माण समितिद्वारा आयोजित शिलान्यास कार्यक्रममा मेयर आचार्यले विकासको लागि प्रोजेक्ट बैंक बनाएर कोटदेखि कोटसम्मको योजना सुनाएका हुन् ।
उनले १ वर्ष भित्रमै योजना सम्पन्न गर्न समितिलाई निर्देशन दिँदै पैसाको अभाव हुन नदिने बताए । हिमाल हेर्दै पोखरा नियाल्दै बन्ने पदमार्ग भविष्यसम्म हुने गरी १० फिटको बनाउन सुझाव समेत दिए । काहुँडाँडाको नाममा सिमित नराख्न बताएका मेयर आचार्यले कालिखोलामा स्विमिङ गरेर काहुँकोट पुग्ने नमुना पैदल मार्ग बनाउन आफू लागिपरेको बताए ।
निर्माण समितिका अध्यक्ष तीर्थ बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा मेयर आचार्यले पोखरालाई नमुनाकाे रूपमा विकास गर्न महानगर लागिपरेको बताए । १ दिन पर्यटकको बसाई लम्ब्याउन सकिने योजना ल्याउन निर्माण समितिले पहल गरेर काहुँ डाँडामा सिमित नगर्न स्थानीयलाई आग्रह गरे । पोखरा सहरमा कोटको अवधारणा सकारात्मक भएको बताएका मेयर आचार्यले सराङ्कोट बनिसकेको बताउँदै अव काहुँकोटको पालो भएको समेत उल्लेख गरे ।
अधिकांश सार्वजनिक जमिन रहेको करिव ३ करोडको योजना रहेको निर्माण समितिका अध्यक्ष तीर्थ बहादुर बस्नेतले बताए । शिलान्यास कार्यक्रममा पोखरा ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले वडा कार्यालयले गर्नु पर्ने सवै काम गरेरै वडालाई नमुना बनाएरै छोड्ने प्रतिवद्धता जनाए । पानी प्रशोधन केन्द्र काहुँ परिसरमा भएको कार्यक्रम निर्माण समितिका सचिव कुमार क्षेत्रीले सञ्चलान गरेको थिए भने समितिका उपाध्यक्ष हरिप्रसाद बास्तोलाले स्वागत गरेका थिए । प्रदेश सरकार, वडा र स्थानीयको सहयोगबाट निर्माण सुरु भएको योजना प्रत्येक १ हजार सिढींमा सौन्दर्यकरण हुने बताइएको छ ।
निर्माण समितिका अध्यक्ष बस्नेतले ५ लाख १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणासमेत गरे । उनले आफ्ना स्वर्गीय पिता रेशमबहादुर बस्नेतको सम्झनामा सुविधा सम्पन्न शौचालय, आकर्षक बोट विरुवा, फलामे रेलिङ, चौतारो लगायत नमुना योग्य पैदलमार्ग निर्माण गरेर आफू जन्मेको ठाउँलाई स्वर्ग जस्तो बनाउने कल्पनासमेत सुनाए । शिलान्यास कार्यक्रममा ४ ठाउँमा बन्ने विश्रम गृह मध्ये आफूले १ स्थानमा बनाउने भन्दै अर्को वडा कार्यालयले निर्माण गर्ने प्रतिवद्धताको स्वागत गरे । अध्यक्ष बस्नेतले प्रत्येक एक हजार सिढीमा बन्ने संरचना बाँकी २ स्थानको लागि स्थानीयसँग अनुरोध समेत गरे ।
कार्यक्रममा शिवशक्ति क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टुवराज बास्तोला(विशाल)ले पैदल मार्ग निर्माणले स्वस्थ जीवन दिने बताए । उनले पोखराको कणर्ालीको संज्ञा दिँदै पानी र बनको उचित व्यवस्थापन गर्न महानगरसँग अनुरोध गरेका थिए । अध्यक्ष बास्तोलाले बजारबाट नजिक भएपनि काहुँकोटको ब्रान्डिङ हुन नसक्दा ओझेलमा परेको उल्लेख गरे । सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद आचार्य, खानेपानीका दीपकप्रकाश आचार्य, पण्डित तुलसी आचार्य, वडा सदस्य रनसुवा गुरुङ, विष्णुप्रसाद घिमिरे, समाजसेवी टीकाबहादुर कार्की, पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष दिनेश बास्तोला, सामुदायिक वनका इन्द्रकुमारी आचार्य लगायतले कार्ययोजना बारेमा चासो राखेका थिए । सभामा अध्यक्ष वस्नेतले आगामी वैशाख २७ गते श्री मुिक्तनाथ सन्त सेवा आश्रम रामघाटमा १ हजार ८ शालीग्राम राख्ने योजना सुनाउँदै स्वामी कमलनयन आचार्यको धार्मिक योजना तथा उक्त क्षेत्रमा दैनिक १ सयको संख्यामा साधुसन्त बस्ने सुविधा सम्पन्न धार्मिक स्थल स्थापना भइरहेको चर्चा समेत गरेका थिए ।