१६ बैशाख, तनहुँ ।
पर्यटकीय नगरी बन्दीपुर यतिखेर फुलैफुलले ढाकिएको छ । बन्दीपुर बजारका घरको छतमा रंगीविरंगी फुलहरु फुलेको छ । फुलले बजारको सौदर्य नै बढाएको छ जसले गर्दा पर्यटक आकर्षित भएका छन् ।
यतिखेरको मौसम पर्यटकको लागि उपयुक्त भएकाले पनि धेरै पर्यटकको मन लोभ्याएको हो । एकातिर कलात्मक घरले सुन्दरता बढाएको बन्दीपुरमा अहिले फुलेका विभिन्न फुलले पर्यटकलाई आकर्षित गरेको छ । पछिल्लो समय फुलले ढाकेको बन्दीपुर बजारमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । गर्मी बढेसँगै बन्दीपुर आउने पर्यटकको संख्यामा पनि वृद्धि आएको छ ।

बन्दीपुरको मौसम चिसो भएकाले पनि यस क्षेत्रमा पर्यटकको भीड लाग्ने गरेको छ । गण्डकी प्रदेशको पोखरापछिको धेरै पर्यटक आउने ठाउँका रुपमा बन्दीपुरलाई पर्छ । यहाँ सत्तरी भन्दा धेरै होटेलहरु संचालनमा रहेको बन्दीपुर पर्यटन विकास समितिका पुर्वअध्यक्ष बैस गुरुङले बताए । कोरोनाका कारण अहिलेसम्म पनि पर्यटनमा असर परेको छ । अझै व्यवसाय फस्टाउन सकेको छैन । ‘दैनिक पाँच सात सयको संख्यामा त विदेशी र स्वदेशी पर्यटक आउने गर्थे । अहिले त सिजनको समयमा पनि त्यति पर्यटक आउँदैनन्,’ उनले भने ।
केही दिनदेखि अत्यधिक गर्मी बढेसँगै पर्यटकहरु रिफ्रेस हुन बन्दीपुर आउन थालेका छन् । यहाँको मौसम गर्मीमा चिसो हावा चल्ने र जाडोमा तापक्रम बढ्ने भएकाले पनि यो ठाउँ पर्यटकको रोजाइमा पर्ने गर्छ । अहिले बजार क्षेत्रमा फुलहरु फुलेका छन् । त्यसले पनि पर्यटकलाई आकर्षित गरेको छ,’ उनले भने । बन्दीपुरमा चाइनिज पर्यटक धेरै आउने गर्छन् । त्यस्तै भारत, अमेरिका, अस्टेलिया, न्युजिल्यान्ड, जर्मनलगायतका देशबाट पनि आउने गरेका छन् । अहिले दुई तीनसयको संख्यामा पर्यटक बन्दीपुर घुम्न आउने गर्छन् ।

यहाँ कलात्मक घरले मात्र नभई बजार क्षेत्रमा बिच्छ्याइएको ढुंगाले पनि पर्यटकको मन खिच्ने गर्छ । त्यस्तै बजार क्षेत्रमा राखिएको मेटालिक पोलले पनि बन्दीपुरको सौंदर्यतामा थप सुन्दरता बढाएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । बन्दीपुरबाट माछापुच्छे«, अन्नपुर्णसहित एघार वटा हिमालहरु नजीकैबाट नियाल्न सकिनेछ । बन्दीपुरमा बिदाको दिनमा आन्तरिक पर्यटकको भिड बढ्ने गरेको छ । ( मानुङ्ग पोष्ट वाट )