पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्।
उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्ति गरेका हुन् ।नेता पाण्डेलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ३५ सांसदको समर्थन छ ।
नवनियुक्त मुख्यमन्त्री पाण्डेको शपथ भने शुक्रबार हुने भएको छ। शुक्रबार मध्यान्ह मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरूङले शपथ खुवाउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्।पाण्डे गत मंसिर ४ को चुनावमा गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए। पाण्डे कांग्रेसका केन्द्रीय सदस्य पनि हुन्।
गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ खोप्लाङका पाण्डे नेविसंघ, तरूण दल हुँदै कांग्रेसको राजनीतिमा सक्रिय छन्।