काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुहार आज मुलुकभर बादल लागिरहे पनि केही स्थानमा मात्र छिटपुट वर्षा भइरहेको हो। विशेष गरेर गण्डकी, लुम्बिनी, बागमतीप्रदेश लगायत पश्चिमका प्रदेशका पहाडी तथा हिमाली भुभागहरूका थोरै स्थानमा हिमपात र केही पहाडी स्थानमा हल्का वर्षा भइरहेको छ। ‘
विशेष गरेर पाल्पा र पोखरालगायतका क्षेत्रमा हल्का वर्षा भइरहेको छ। झरीको सम्भावना नदेखिए पनि बादल चै दिनभरी लाग्ने देखिन्छ’, पौडेलले भने, ‘काठमाडौंमा धुम्म बादल लागिरहेको छ।
हल्का वर्षाको सम्भावना रहेको छ। तर दिनभर जसो पानी पर्ने सम्भावना छैन। कतै कतै छिटपुट वर्षा हुन्छ।’ कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।