तनहुँ माघ ९ ।
तनहुँको एक विद्यालयका प्रधानाध्यापकले दश कक्षामा अ ध्ययनरत विद्यार्थीहरुलाई कुटपिट गरेका छन् । घिरिङ गाउँपालिका स्थित चन्द्रज्योती माविका प्रधानाध्यापक प्रेम थापाले कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुलाई परिक्षामा राम्रो नम्वर नल्याएको भन्दै पिटेका हुन । कुटपिट गरिएको विद्यार्थी मध्ये भिमाद नगरपालिका– ४ बरडांडाको लिला माया आलेलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार साँझ नै अस्पताल लगिएको थियो । उनलाई तीघ्रामा लठ्ठीले हानिएको थियो ।
सोमबार जीपी कोइराला राष्ट्रिय स्वास प्रस्वास उपचार केन्द्र बेलचौतारामा उपचार पस्चात घाइते विद्यार्थी डिस्चार्ज भएका छन् । सबै विद्यार्थीलाई नम्वर थोरै ल्यायो भनेर शिक्षकले पिटेका हुन् ।
विद्यार्थीले आन्तरिक परिक्षामा राम्रो अंक नल्याएकोले प्रधानाध्यापकले कुटपिट गरेको गाउँपालिका अध्यक्ष होम बहादुर थापाले बताए । ‘दश कक्षामा ४२ विद्यार्थी अध्ययनरत छन् । उनीहरुलाई आइतबार परिक्षा लिइएको थियो । तर अधिकांस विद्यार्थीले राम्रो अंक ल्याएनछन् । त्यसपछि प्रधानाध्यापकले पिट्नु भएछ । थोरै अंक ल्यायो भन्दैमा विद्यार्थीलाई पिट्न नहुने उनले बताए ।
एसइइ नजिकिदै गर्दा होस्टेलमा बसेका विद्यार्थीलाई विद्यालयमै पुर्व तयारी कक्षा संचालन गरिएको थियो । होस्टलमा आइतबार ४२ जनालाई टेस्ट परीक्षा लिँदा अधिकांश विद्यार्थीले उत्तर नजानेको भन्दै सबैलाई लठ्ठीले पिटेको विद्यार्थीको गुनासो छ ।
अभिभावक, विद्यार्थी, शिक्षक, प्रहरी र जनप्रतिनिधिवीच छलफल
विद्यार्थी माथि भएको कुटपिटको घटना बाहिरिएपछि त्यसक्षेत्रका अभिभावक र विद्यार्थीहरु त्रसित भए । त्यसपछि अधिकांस अभिभावक र विद्यार्थीले प्रधानाध्यापकमाथि कारवाही गर्नुपर्छ भन्दै विद्यालयमा उपस्थित भएका थिए । विवाद समाधान गर्न अभिभावक, विद्यार्थी, शिक्षक, प्रहरी र जनप्रतिनिधिवीच छलफल भएको गाउँपालिका अध्यक्ष थापाले बताए । उनका अनुसार विद्यार्थीहरुको माग यो शिक्षक हुँदैन कारवाही गर्नुपर्छ भन्ने छ । ‘हामीले पनि छानविन गर्छौ गल्ती गर्नेलाई कारवाही गर्छौ भनेका छौ, तर विद्यार्थीहरुले डर र पिडा महसुस गरेका छन् कसरी समाधान खोज्ने त्यस विषयमा छलफल गर्ने उनले बताए ।
विद्यालयमै विद्यार्थीमाथि प्रधानाध्यापकले कुटपिट गरेपछि विद्यालय तनावग्रस्त बनेको थियो । अन्यलाई केही नभएपनि एउटा विद्यार्थीको स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै विद्यालयका शिक्षकहरुले अभिभावकलाई खवर गरी साँझ नै अस्पताल पठाएका थिए ।
विद्यार्थीमाथि भएको कुटपिटको घटना निन्दनीय भएको शिक्षा शाखा प्रमुख बाबुराम गैह्रेले बताए । ‘म पनि गाउँपालिकामा थिइन त्यस दिन बाहिर थिए । पछि बालबालिकाले कुटाइ खाए भन्ने थाहा पाए त्यसपछि सम्वन्धित शिक्षकलाई सम्पर्क गर्न खोजे तर भएन । विद्यार्थीमाथि भएको घटना नराम्रो भएकाले त्यस विषयमा छानविन गरी दोषीमाथि कारवाही प्रकृया अघि बढाउँछौ,’ उनले भने । यता अभिभावकहरु त्रसित बनेका छन् । छोराछोरीलाई पढ्न विद्यालय पठाएपनि शिक्षकबाट नै असुरक्षित हुने अवस्था आयो भन्दै अभिभावकले गुनासो गरेका छन् ।
सोमबार गाउँपालिकामा भएको छलफलमा कानुन बमोजिम कारवाही गर्न अभिभावकले माग गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । ‘अभिभावकले भोली कानुन बमोजिम जाहेरी दिन्छौ भनेर समझदारी गरी आजको छलफल सकिएको छ । मंगलबार रितपुर्वक जाहेरी लिएर आउँछौ भन्नु भएको छ । आउनु भयो भने दर्ता गर्छौ,’ उनले भने ।