माघ ५ महाेत्तरी ।
नेपाल खानेपानी संस्थान र गौशाला नगरपालिकाबिच स्थानीय उपभोक्तालाई स्वच्छ पिउने पानी वितरण गर्ने सम्झौता भएको छ । स्थानीय रामनगर र लक्ष्मीनिया उपभोक्ता समितिले २ हजार ७ सय संख्यामा रहेको धारा संस्थानलाई हस्तान्तरण गर्दै उक्त धारणा सार्वजनिक गरेको हो ।
प्रमुख अतिथि गौशाला नगरपालिकाका मेयर डा.दिपेन्द्र महतोले उपभोक्ता समितिलाई आजसम्म गरेको सेवालाई धन्यवाद दिँदै जिम्मेवार भएर संस्थानले थप सेवा प्रदान गर्न आग्रह गरे । नगर प्रमुख डा.महतोले नगरपालिका र खानेपानी संस्थान मिलेर थप उपभोक्तालाई स्वच्छ, स्वास्थ्यकर र आवश्यक पर्ने पानी निरन्तर प्रदान गर्न आफू तयार रहेको धारणा राखे । नगर प्रमुख महतोले जग्गादाता र उपभोक्ता समितिलाई ध्यान दिएर रोजगारको व्यवस्था मिलाउनसमेत संस्थानलाई आग्रह गरेका थिए ।
खानेपानी संस्थान संस्थागत सेवा महाशाखा प्रमुख त्रिदीपकुमार श्रेष्ठको अध्यक्षतामा भएको सभामा नेपाल खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर प्रसादले उपभोक्तालाई १० देखि १२ घण्टसम्म सेवा दिन कार्यालय प्रमुखलाई निर्देशन दिए । उनले गौशाला नगरपालिकाका सवै वडामा संस्थानले सेवा गर्ने बताउँदै सहरी क्षेत्रमा १ घर १ धारालाई प्रथामिकता दिने उल्लेख गरे । उपभोक्ता समितिले दिएको सेवा भन्दा फरक अनुभूति हुने गरी संस्थानले नयाँ योजना र प्रभावकारी सेवा प्रदान गर्ने बताए ।
केन्द्रीय कर्मचारी प्रशासन शाखा प्रमुख कमल थापाले सञ्चालन गरेको सभामा स्वागत गर्दै गौशाखा शाखाका कार्यालय प्रमुख ई. राकेश गोइतले स्वच्छ खानेपानी प्रदान गर्न संस्थान तयार रहेको भन्दै सरल र सहज तवरबाट पानी वितरण हुने बताए । स्थानीय उपभोक्ता समितिको योजना अवदेखि संस्थानले क्रमश पुरा गर्दै लगिने बताए । सहभागी सवैलाई स्वागत गर्दै प्रमुख गोइतले ४ हजारको हाराहारीमा धारा संख्या रहेको शाखालाई आवश्यक जनशक्ति र कार्यालय सञ्चालन गर्न पुर्वाधार उपलब्ध गराउन केन्द्रीय कार्यालयसँग अनुरोध समेत गरे ।
हस्तान्तरण सभामा गौशाला वडा नं ११ का अध्यक्ष रामपृत महतो, रामनगर खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुरतन यादव, गौशाला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मनोजकुमार गुप्ताले व्यक्तिगत स्वार्थ त्यागेर उच्च सेवा प्रदान गर्न धारा संस्थानलाई हस्तान्तरण गरेको भन्दै जरिवाना कम लाग्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले संस्थान भनेको कार्यरत कर्मचारी भएकाले सवैलाई समान भुमिका र सन्तुष्ट बनाउन आग्रह गरे । संस्थानमा स्थायी, करार र ज्यालादारी प्रकृतिमा कार्यरत रहँदा अनेकन समस्या आएको भन्दै सवैलाई प्रभावकारी हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन व्यवस्थापनलाई आग्रह गरेका थिए । सभामा नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका सहसंयोजक समीर पण्डितले गौशाला शाखा र कार्यालय प्रमुखको कामले खुसी लागेको भन्दै शुभकामना दिएका थिए ।
यसैगरी महोत्तरी जिल्ला अन्तर्गत रामनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट गौशाखा नगरपालिका वडा नं १ स्थित निर्माण भएको खानेपानी आयोजना नेपाल खानेपानी संस्थान सञ्चालक समितिका अध्यक्ष गुणखर भुषाल र महाप्रबन्धक ईश्वर प्रसादले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।
गौशाला नगरपालिका वडा नं ११ मा रहेको लक्ष्मीनिया खानेपानी उपभोक्ता समितिबाट निर्माण भएको पानी पोखरी तथा भौतिक संरचनाको अध्यक्ष भुषाल र महाप्रबन्धक ईश्वर प्रसादले उद्घाटन गरेका थिए । उद्घाटन सभालाई सम्मोधन गर्दै अध्यक्ष भुषालले संस्थानले प्रभावकारी सेवा दिन बजेट र जनशक्तिको अभाव हुने नदिने बताए । महाप्रबन्धक ईश्वर प्रसादले उपभोक्ताको चाहना अनुरुप संस्थानले सेवा दिने बताए ।