काठमाडौं १९ पुष ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी सेवा लिने क्रममा नागरिकले धेरै सास्ती झेल्नुपरेको भन्दै यसमा सुधार गर्न मंगलवार सिहदरवारमा सचिवहरुलाई निर्देशन दिएका छन् ।
राज्य संयन्त्रमा प्रधानमन्त्रीले दिने निर्देशनको परम्परा र अर्थ बुझेका विज्ञ भन्छन, ‘निर्देशनले मात्रै परिणाम आउँदैन, त्यसलाई परिणामसम्म पुर्याउन अनुगमन संयन्त्र आवश्यक पर्छ ।’
सोमबार र मंगलबार सचिवहरुको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री प्रचण्डले छ वटा क्षेत्रमा गुणात्मक परिवर्तन देखिने गरी काम गर्न निर्देशन दिएका छन् । सरकारी सेवा लिन नागरिकले सास्ती खेप्नुनपर्ने बनाउन,राजस्व संकलनको अवस्था सुधार्न, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन, विकास निर्माणलाई गति दिन र शिक्षा, स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।
तर, यति धेरै निर्देशन दिएका प्रधानमन्त्रीले यो निर्देशन कार्यान्वयन भए नभएको अनुगमन गर्ने चाहिँ कुनै संयन्त्र बनाएका छैनन् ।