काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनेसँगै चीनले नेपाली वस्तु निर्यात गर्न सक्नेगरी रसुवागाढी नाका खुला गरेको छ ।
३५ महिनादेखि बन्द रहेको नाका चीनले मंगलबारदेखि खुला गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ । कोभिड–१९ महामारी सुरु भएयता पहिलो पटक नेपाली वस्तु निर्यात गर्न सक्नेगरी रसुवागढी नाका खुला भएको हो ।
नाका खुलेको पहिलो दिन नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु नाकाबाट निर्यात भएको रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
भन्सार कार्यालय रसुवाकाआनुसार मंगलबार नेपालबाट ६ वटा ट्रकमा नेपाली वस्तु चीनतर्फ निर्यात भएका छन् । नेपालबाट बाँसको मुढा, तामाका भाँडा लगायतका वस्तु चीनतर्फ निर्यात भएको भण्डारीले बताए ।
कोरोना महामारीपछि रसुवागढी नाकाबाट सामान निर्यात र मानिसको आवतजावत भने २०७६ माघ १५ देखि नै बन्द थियो ।
सोमबार मात्रै ल्हसास्थित नेपाली महावाणिज्य दूतावासलाई चिनियाँ अधिकारीले नाकाबाट नेपाली वस्तु आयात खोल्ने जानकारी गराएका थिए । सो बारेको जानकारी महावाणिज्य दूतावासले रसुवा जिल्ला प्रशासन र भन्सार कार्यालयलाई गराएको र सोही बमोजिम मंगलबार सांकेतिक रुपमा नेपाली वस्तु निर्यात सुरु गरिएको हो ।
यता सिन्धुपाल्चोकको तातोपानी नाका भने नेपाली वस्तु निर्यातका लागि अझै बन्द अवस्थामा छ ।