काठमाडौँ १३ मसिर । नेपाली काँग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।मंगलबार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेललगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना सुरु गर्न आग्रह गरेका हुन्।
उनीहरुले बाजुराको पनि मत गणना थाल्न पनि आग्रह गरेका छन्। काँग्रेस नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेट गरी मत गणना सुरु गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन्।
प्रमुख निर्वाचन आयुक्तसँगको भेटपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोगलाई तुरुन्त मतगणना कार्य सुरु गर्न आग्रह गरिएको बताए। उनले स्याङ्जा २ मा विधिवत रुपमा निर्वाचन सम्पन्न भएको भन्दै मत गणना रोक्नु आवश्यक नभएको बताए।
निर्वाचनको समय अवधिभर कुनैपनि घटना नघटेको जिकिर गर्दै वरिष्ठ नेता पौडेलले छानबिन समिति गठन गर्नु गलत भएको बताए। उनले बाजुरामा पनि तुरुन्त मत गणना गर्नुपर्ने बताए।
स्याङ्जा–२ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार रहेका काँग्रेस उपसभापति धनराज गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र कुनैपनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मत गणना शुरु गर्नुपर्ने बताए। ने.क.पा एमालेले भने स्याङ्जा क्षेत्र नं. २ काे चापाकाेटमा नगरपालिकाकाे केही वुथमा नेपली काग्रेसवाट निर्वाचनमा धाँधली भएको भन्दै पुन मतदान गर्नुपर्ने माग गरेकाे छ ।