काठमाडौँ, १७ कात्तिक
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले संविधानको रक्षाका लागि पनि निर्वाचनमा गठबन्धन आवश्यक भएको बताउनुभएको छ ।
संविधानकै रक्षाका लागि राजनीतिक दलहरु कांग्रेसको नेतृत्वमा अघि बढ्न सहमति जनाएको उहाँले बताउनुभयो । आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता प्रधानले आसन्न निर्वाचनमा नागरिक खासै उत्साहित हुन नसकेको अनुभव आफूले घरदैलो अभियानको क्रममा गरेको बताउनुभयो ।
जनताको समस्या समाधान गर्ने हिसाबले नेताहरु पुग्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो । काठमाडौँ सम्पदाको सहर भएको उल्लेख गर्दै नेता प्रधानले काठमाडौँलाई नमूनाको सहर बनाइने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार तेजप्रकाश पण्डित, कुलचन्द्र वाग्ले, नेपाली कांग्रेसका नेता हरिसिंह केसी लगायतले निर्वाचनमा कांग्रेसले विगतको साखलाई समेत जोगाएर निर्वाचनबाट नयाँ उचाइ हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
‘गठबन्धनले मुलुकलाई समृद्धि र संविधानको रक्षा गर्छ’ यसैगरी नेता प्रधानले मुलुकको समृद्धि र संविधानको रक्षाका लागि वर्तमान गठबन्धन निर्माण भएको बताउनुभएको छ ।
नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–२६ ले सामाखुशीमा स्थापना गरेको चुनावी सम्पर्क कार्यालयको आज साँझ उद्घाटन गर्दै उहाँले “दुई तिहाई जनमत प्राप्त गरेको नेकपा सरकारले काम गर्न नसकेका कारण वर्तमान गठबन्धन निर्माण भएको हो”, उहाँले भन्नुभयो । पूर्वमन्त्री प्रधानले काठमाडौँ क्षेत्र नं ६ को विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताउनुभयो ।
कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेशसभा (१)का उम्मेदवार हरिप्रभा खड्गी श्रेष्ठले गठबन्धनका उम्मेदवारलाई जिताउन युवा र महिलाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले पद र इच्छाशक्ति भए काठमाडौँ क्षेत्र नं ६ को विकास गर्न सकिने स्पष्ट पार्नुभयो । नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–२६ का पूर्वअध्यक्ष कृष्ण लामाले काठमाडौँ क्षेत्र नं ६ को विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताउनुभयो । —