तनहुँको ब्यास नगरपालिका १२ छिर्केनेमा चितुवाको आक्रमणबाट मंगलवार साँझ एक बालकको मृत्यु भएको छ ।यो संगै चितुवाको आक्रमणबाट कार्तिक महिनामा मात्रै दुई बालबालिकाले ज्यान गुमाईसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साँझ ६.३० बजेको समयमा घर नजिकै बसिरहेका राजु कुँवरका ८ वर्षीय छोरा अभिनव कुँवरलाई चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।
तनहुँका डीएसपी युवराज खड्काले घटना भएको सूचना लगत्तै प्रहरी टोली तर्फ परिचालन गरिएको जानकारी दिए । बालकको शवलाई घटनास्थलबाट मुचूल्का गरेर जिल्ला अस्पताल दमौली लागिएको छ ।
गत कार्तिक ४ गते तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट ११ वर्षीय विना चेपाङको मृत्यु भएको थियो ।
तनहुँको भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा बिगत केहि वर्षदेखि चितुवा आक्रमणको घटना निकै दोहोरिन थालेको छ । स्थानीय प्रशासन,जिल्ला प्रशासन र बन कार्यालयबाट चितुवा छोप्न खोर राख्ने लगायतका कामहरु भएपनी आक्रमण रोकिएको छैन ।