‘एकताबद्ध देश, खेलकुदको सन्देश’ को शान्ति र राष्ट्रिय भावसहित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आजदेखि औपचारिक रुपमा सुरु हुँदैछ । दिउसो ४:३० बजे उपराष्ट्रपति नन्द बहादुर पुन ले उद्घाटन पोखरा रंगशालामा उद्घाटन गरेपछि नवौं रास्ट्रीय खेलकुदको औपचारिक शुभारम्भ हुँदैछ ।
नवौं राष्ट्रिय खेलकुदको पोखरा रंगशालामा शुक्रबार हुने औपचारिक उद्घाटन सत्र राष्ट्रिय खेलकुद परिषद्ले भव्य बनाउने तयारी गरेको छ । विभिन्न विद्यालयका विद्यार्थी, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, खेलाडी र खेल पदाधिकारीको सहभागिताले उद्घाटनलाई स्मरणीय बनाउने राखेपको प्रयत्न छ ।कोेभिड–१९ महामारीको प्रभावले हरेक दुई–दुई वर्षमा हुनुपर्ने प्रतियोगिता तोकिएको समयभन्दा डेढ वर्ष ढिला गरी आयोजना भयो । विसं २०७७ फागुन अन्तिम साताका लागि तय भएको नवौँ कोरोनाकै कारण पटक–पटक स्थगन हुँदै आएको थियो ।
पोखरा रङ्गशाला उद्घाटन समारोहका लागि सिङ्गारिएको छ । ठाउँ–ठाउँमा स्वागतबोर्ड, ब्यानर र बत्तीले साँझमा झिलीमिली छ ।
उद्घाटनमा देशका सात प्रदेशको संस्कार र संस्कृति गीत, सङ्गीत, नृत्य र झाँकीको माध्यमबाट समारोहमा झल्किनेछ । नेपाली सांस्कृतिक विविधतालाई राष्ट्रिय खेलकुदको उद्घाटनले प्रतिनिधित्व गर्नेछ । नेपालको भूगोल र ठाउँ विशेषअनुसारको मौलिक संस्कृति प्रस्तुत गर्ने गरी नृत्य र झाँकी प्रदर्शन हुने समारोह उपसमितिले जनाएको छ । उद्घाटन समारोह दुई घण्टाको हुनेछ ।
प्रदेश नं १ को राई–लिम्बूको चर्चित साकेला नृत्य, मधेसको सतार र धिमाल जातिको मौलिक नृत्य, बागमतीको नेवारी संस्कृति, गण्डकीको कौडा, घाँटु र लोकगीत, लुम्बिनीको थारू संस्कृति, कर्णालीको मगर समुदायको झ्याउरे र सुदूरपश्चिमको हुर्केली गीत र झाँकी प्रस्तुत समारोहमा प्रदर्शन हुनेछ ।
नवौंमा पहिलोपल्ट ‘राष्ट्रिय रनिङ ट्रफी’ बनाइएको छ । १० तोला चाँदी र दुई तोला सुन जडित उक्त ट्रफी ६ प्रदेश र तीन विभागीय टिमको मुख्यालय पुर्याएर गण्डकीमा ल्याइएको छ । उक्त ट्रफीका
सद्भावनादूत ओलम्पियन दीपक विष्ट, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता करातेका दीपक श्रेष्ठ, राष्ट्रिय खेल भलिबलको महिला टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मीरा राई मार्चपासमा सहभागी हुनेछन् । नेपाली सेनाको झन्डा मार्चपास हुनेछ । सहभागी ११ टिमका खेलाडी, जज रेफ्री, १६ विद्यालयका एक हजार दुई सय विद्यार्थीको मार्चपासमा सहभागिता रहनेछ । गण्डकी प्रदेशका विभिन्न १२ जातजातिका संस्कृति झल्कने झाँकी प्रस्तुत हुनेछ ।
तत्पश्चात् राखेपका सदस्यसचिव एवं कार्यकारी समितिका संयोजक टंकलाल घिसिङले स्वागत भाषण गर्नेछन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको मन्तव्यपछि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले झन्डोत्तोलन गर्नेछन् । खेलाडीका तर्फबाट गण्डकीका प्याराग्लाइडिङ खेलाडी सुशील गुरुङ र रेफ्रीका तर्फबाट भलिबलका टहलसिंह थापालाई शपथग्रहण गराउने तयारी छ ।
राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अगावै केही खेल सुरु भइसकेको छन् । महिला क्रिकेट, फेन्सिङ, ह्याण्डबल लगायतका केही खेल असोज २३ देखीनै सुरु भएका छन् । अधिकाँस खेलहरु आजदेखि सुरु हुँदैछन् ।
राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी खेल हुनेछन् । पुरुष क्रिकेट राजधानी काठमाडौँमा सम्पन्न भइसकेको छ । सुटिङ पनि काठमाडौँमै हुनेछ । बाँकी खेलहरु अधिकाँस पोखरा रङ्गशालामा हुनेछन । पोखरामा २७ खेलहरु हुनेछन् । पुरुष बास्केटबल पोखरा र महिला बास्केटबल तनहुँमा हुँदैछ । बाँकी खेलहरु गोरखा, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा र नवलपुर गरी छ जिल्लामा हुँदैछ ।