असोज-४, काठमाण्डौ । आगामी मङ्सिर चार गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् ।
६८ दलले निवेदन दिएकोमा ४८ दलले मात्रै समयसिमा भित्र समानुपातिक तर्फको बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगको असोज ३ र ४ गते संघ र प्रदेश दुबैको समानुपातिक तर्फको बन्दसुची बुझाउने कार्यसूची थियो ।
प्रतिनिधि सभामा समानुपातिल संख्या ११० रहेको छ भने फरक प्रदेशमा फरक फरक संख्यामा समानुपातिक संख्या रहेको छ । प्रदेश १ मा ३७, मधेस प्रदेशमा ४३, बागमतीमा ४४ र गण्डकी प्रदेशमा २४ समानुपातिक सिट रहेको छ । त्यस्तै, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा क्रमश: ३५,१६,३१ को संख्यामा समानुपातिक सांसद निर्वाचित हुनेछन ।
निर्वाचन कार्यतालिकाअनुसार दलहरूले सूचीमा २२ असोजसम्म परिमार्जन गर्न सक्छन् । आयोगले मंगलबारदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्ने छ ।