नेपाली महिला राष्ट्रिय फुटबल टोली समूह बी को विजेता बन्दै छैटौं महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो ।
समुह बि बाट उप-बिजेता बन्दै भुटानले पनि सेमिफाइनको यात्राा तय गरेको छ भने श्रीलंका समूह चरणबाटै बाहिरिएको छ । सोमबार दशरथ रंगशालामा नेपालका लागि अमिशा कार्कीले २ तथा रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले १-१ गोल गरे । पहिलो हाफमा चार गोल गरेको नेपाल दोस्रो हाफमा दुई गोल थप्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेकी अमिशाले दुवै गोल गरिन् ।
खेलको आठौं मिनेटमा अनिता बस्नेतको पेनाल्टी बक्स बाहिरको प्रहार गोलरक्षकले बचाइन् । लगत्तै नवौं मिनेटमा रश्मीकुमारी घिसिङको गोलबाट नेपालले सुरुवाती अग्रता लिन सफल भयो । हीरा कुमारी भुजेलको क्रसलाई रश्मीले हेडरमार्फत जाली चुमाए । ११औं मिनेटमा सरु लिम्बुको गोलबाट नेपालले अग्रता दोब्बर पार्यो । उनले अमृता जैशीको क्रसलाई सरुले हेडरमार्फत जाली चुमाइन् ।
१७औं मिनेटमा अमृता जैशीले गोल गर्दै नेपाललाई ३–० ले अघि बढाइन् । उनले अनिता बस्नेतको कर्नरलाई हेडरमार्फत नै जाली चुमाइन् । २९औं मिनेटमा गोललाइन नजिकै नेपालले सुवर्ण अवसर पाएपनि रेखा पौडेल र अनिताबीच तालमेल नमिल्दा गोल निस्कन सकेन । ३५औं मिनेटमा अनिताको कर्नरमा हीराको प्रहार श्रीलंकाका गोलरक्षक योहानी विरसिंगेले बचाइन् । लगत्तै श्रीलंकाली डिफेन्डरको क्लिअरेन्स टप कर्नरमा लागेर फर्कदा नेपालले थप अग्रता बढाउन सकेन ।
समूह ‘बी’ मा नेपालले दुई खेलबाट ६ अंक जोड्यो । भुटानले ३ तथा श्रीलंका अंक विहीन बन्यो । नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ४–० ले हराउँदा भुटानले श्रीलंकालाई ५–० ले हराएको थियो ।