तनहुँ १७ भदाै ।
कांग्रेसले तनहुँ–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि प्रदीप पौडेलको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि पौडेलसहित केन्द्रीय सदस्य ध्रुब वाग्ले र जिल्ला सभापति जितप्रकाश आलेको नाम सिफारिस गरेको हो ।
पार्टीभित्र युवा नेता कार्यकर्तामाझ लोकप्रिय रहेका पौडेल यहाँबाट पटक–पटक उम्मेदवारका लागि सिफारिस भएका छन् । तर, तनहुँको राजनीतिक शक्ति संघर्षका कारण उनको टिकट खोसिने गरेको छ । तनहुँमा कांग्रेसभित्र त्रिपक्षीय शक्ति संघर्ष छ ।
नेता रामचन्द्र पौडेल तनहुँ–१ बाट चुनाव लड्दै आएका छन् । तर, सभापति शेरबहादुर देउवानिकट नेता शंकर भण्डारी र गोविन्द भट्टराई त्यही क्षेत्रबाट उम्मेदवारका आकांक्षी छन् ।
पौडेल ०७४ को निर्वाचनमा पनि तनहुँ–२ बाटै प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका थिए । तर, तनहुँ–१ मा रामचन्द्र पौडेलले टिकट पाएपछि सभापति देउवाले आफूनिकट नेता भण्डारीलाई तनहुँ–२ मा उम्मेदवार बनाएर पठाएका थिए ।
प्रतिनिधिसभामा सिफारिस भएका पौडेललाई भने तनहुँ–२ (क) बाट प्रदेशसभा सदस्यको टिकट दिइएको थियो । उनी बाम गठबन्धनकी आशा कोइरालासँग ५ मतले पराजित भएका थिए । १४ औँ महाधिवेशनमा देउवाकै प्यानलबाट महामन्त्रीमा पराजित पौडेलले यसपटक भने संघमै टिकट पाउने चर्चा छ ।
०७४ मा भने तनहुँ–२ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका केदार सिग्देल निर्वाचित भएका थिए । उनले ३२ हजार ९२४ मत ल्याउँदा कांग्रेसका शंकर भण्डारीले २९ हजार ६४५ मत पाएका थिए ।