काठमाडौं । पाँचौं टि-२० आई खेलमा नेपालले केन्यालाई ३१ रनले हराउँदै सिरिज जितेको छ । ।
पाँच टि-२० आई खेलको अन्तिम खेलमा जितको लागि १ सय ७६ रनको बलियो लक्ष्य पाएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रन बनायो ।
यो जितसँगै नेपालले पाँच खेलको शृंखला ३–२ ले आफ्नो पक्षमा पारेको छ । नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्या ७ विकेट गुमाएर १४४ रनमै सीमित भयो । केन्याका नेहेमी ओढियाम्बोले ३७ र शेम गोचेले ३३ रन बनाएर नेपालका कप्तान सन्दीप लामिछाने र वसिर अहमदले २–२ विकेट लिए ।
नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । नेपालका ज्ञानेन्द्र मल्ल ४४ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रनमा आउट भए । ज्ञानेन्द्रले ४१ बलमा आफ्नो टि२० आई करिअरको दोस्रो अर्धशतक प्रहार गरे ।रोहित पौडेलले २५ बलमा ७ चौकासहित ४७ रनमा आउट भए । ओपनर अर्जुन साउद २१ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा आउट भए । पहिलो विकेटका लागि अर्जुन साउद र ज्ञानेन्द्र मल्लले ८ ओभरमा ६५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
अर्जुन शेम न्गोचेको आठौं ओभरको अन्तिम बलमा विकेटकिपर इफरान करिमबाट स्टम्पिङ आउट भए । नियमित ओपनर पवन सरार्फको स्थानमा नेपालले आज ज्ञानेन्द्रलाई ओपनिङ गराएको थियो । तेस्रो नम्बरमा आएका दीपेन्द्रसिंह ऐरी १७ बलमा ३ चौकासहित २२ रनमा आउट भए । पवन १ रन, विवेक यादव २ र आदिल अन्सारी ४ रनमा आउट भए ।
केन्याका स्पिनर विरज पटेल, शेम न्गोचे र नेहेम्याह ओधियाम्बो दुई दुई विकेट लिए । नेपाल पहिलो खेलमा ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । तेस्रो खेलमा ४ विकेटले विजयी हुँदा चौथो खेलमा ७ रनले स्तब्ध भएको थियो । अन्तिम खेलको म्यान अफ द म्याच ज्ञानेन्द्र मल्ल बने भने, म्यान अफ द सिरिज नेपाली कप्तान सन्दिप घोषित भएका छन् ।
अव तीन एकदिवसिय अभ्यास खेलको सिरिज हुनेछ । पहिलो खेल शुक्रबार हुनेछ ।