साउन १६ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल निजामती कर्मचारी युनियन कास्कीले गण्डकी प्रदेश सरकारलाइ प्रदेश तथा स्थानीय तहलाइ सम्बोधन हुने गरी प्रदेश निजामती सेवा ऐन जारी गर्न माग गरेको छ ।
युनियनले साेमवार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापनपत्र बुझाउँदै निजामती सेवा ऐन जारी गर्न पहल गर्न आग्रह गरेको छ । युनियनका अध्यक्ष सुरेशकुमार श्रेष्ठको नेतृत्वमा गएको कर्मचारीहरुको टाेलीले ज्ञापनपत्र बुझाएको छ ।
निजामती सेवालाई व्यवस्थापन गर्ने विषय सरकारको प्राथमिकतामा नपर्नु गम्भीर चिन्ताको विषय भएको ज्ञापनपत्रमा उल्लेख छ । देश सङ्घीय राज्य व्यवस्थामा गएको लामो समयसम्म पनि सङ्घीय शासन प्रणालीको कार्यान्वयनको लागि संघ, प्रदेश तथा स्थानीय तहको कर्मचारी प्रशासन व्यवस्थापन एवं मार्ग दर्शन गर्ने छाता कानूनको रुपमा रहेको सङ्घीय निजामती सेवा ऐन जारी नहुदा सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भुमरीमा परेको कर्मचारी युनियनको ठहर छ ।
सार्वजनिक सेवा प्रवाहको प्रमुख माध्यमको रुपमा रहेको यस विषयमा राष्ट्रियस्तरका ट्रेड युनियनले नेपाल सरकार र प्रदेश सरकारसमक्ष पटक पटक ध्यानाकर्षण गराउदैँ आएपनि सुनुवाई नभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउन नेपाली कांग्रेस कास्की जिल्ला समितिका सदस्य एवं शुभेच्छुक संस्था समन्वय समितिका संयोजक गंगाधर पराजुली, कास्की कांग्रेसका सहसचिव नविन सिग्देल, युनियनका केन्द्रीय सदस्य विश्वराज आचार्य ,युनियनका पुर्व जिल्ला अध्यक्ष डार्विन लम्साल, प्रदेश समितिका उपाध्यक्ष अर्जुन गुरुडं सहित जिल्ला र प्रदेश समितिका पदाधिकारी एवं सदस्यहरु उपस्थित रहेका थिए ।
यसअघि युनियनले गण्डकी प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुमार खड्का, गण्डकी प्रदेशको विधायन समितिका सभापति विष्णु प्रसाद लामीछाने लगायतलाई समेत भेटेर ध्यानाकर्षण गराएकाे थियाे ।