साउन १३ ।
पोखरामा आजदेखी प्रथम महानगर प्रमुख ‘मेयर सम्मेलन’ सुरु भएको छ । पोखराको पर्यटकीय गन्तव्य सराङकोटस्थित एक रिसोर्टमा सञ्चालन भएको सम्मेलन शनिबारसम्म सञ्चालन हुनेछ ।
पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा आयोजक पोखरा सहित काठमाडौँ, विराटनगर, चितवन, ललितपुर र विरगञ्ज महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको छ ।
सम्मेलनमा सहभागी हुन आउनुभएका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतहरुलाई महानगरले दिउसो पोखरामा स्वागत गरेको छ । सहभागीहरुलाई पोखरेली ढाका टोपी, सल र खादा मालाबाट स्वागत गरिएको थियो ।पोखराका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र वडाध्यक्षहरुले पाहुनाहरुलाई स्वागत गर्नुभएको थियो ।
महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ । सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदानप्रदान गरिने पोखरा महानगर प्रमुख आचार्यले बताउनुभयो ।महानगरहरुलाई जनउत्तरदायी बनाउन निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न र कामलाई सहजीकरण गर्न सम्मेलन फलदायी हुने विश्वास लिइएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,“गाउँपालिका र नगरपालिकाका समस्या सुनाउने छुट्टै फोरम भएपनि महानगरको आफ्नो छुट्टै फोरम नभएकाले साझा समस्या, चुनौति र अवसर पहिल्याउन सम्मेलन आयोजना गरेका हौँ । सम्मेलनले पोखरा घोषणा जारी गर्नेछ र सम्बन्धित निकायमा सुझावका रुपमा पेश गर्नेछौँ ।”
सम्मेलनको पहिलो दिन राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.जगदिश चन्द्र पोखरेलले संघीयता, महानगर र अवको बाटो शीर्षकमा प्रस्तुती राख्नुभयो । यसैगरी महानगरपालिकाका प्रमुखहरुद्धारा महानगरपालिकाका मुख्य योजनाहरु तथा कार्यान्वयनका चुनौतीहरु बारे अनुभव आदानप्रदान गर्नुभएको थियो ।
सम्मेलनमा उपप्रमुखहरुले ऐनले निर्दिष्ट गरेका जिम्मेवारीहरु सम्बन्धमा अनुभव तथा सिकाई आदानप्रदान गर्नुहुनेछ । यस्तै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले विद्यमान ऐन, कानुन तथा तिनका कार्यान्वयनका चुनौतीहरु बारे आफ्नो अनुभव राख्नुहुनेछ ।
सम्मेलनको दोस्रो दिन शनिबार पुर्वाधार विज्ञ डा.सूर्यराज आचार्यद्धारा महानगरपालिकामा पुर्वाधार विकास तथा सुशासन, सुदृढ परियोजनाका डा.अजयचन्द्र लाल र सरोज बस्नेतद्धारा महानगरपालिकामा हरित, उत्थानशिल तथा विकास अपरिहार्यता सम्भावना र चुनौतीहरु, महानगरपालिकाका प्रमुखहरुद्धारा महानगरपालिकाका साझा सवाल तथा आगामी कार्यदिशा विषयमा प्यानल छलफल हुनेछ ।
सम्मेलन पोखरा घोषणा पत्र जारीसंगै आगामी वर्ष २०८० का लागि महानगरपालिका मेयर सम्मेलनको घोषणा तथा आयोजक महानगरपालिकाका प्रमुखलाई ‘मेट्रो मिट नेपाल’ अंकित झण्डा हस्तान्तरण गरेर समापन हुने पोखरा महानगरले जनाएको छ ।