पोखरा, २ साउन
पोखरा महानगरपालिकाले पोखरा ३३ मा अनधिकृत रुपमा निर्माण गरिएका घर टहरा हटाएकाे छ । महानगरका मेयर धनराज आचार्यको निर्देशन र वडाध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा ति घर टहरा भत्काएकाे उनले बताए । उनका अनुसार वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ टहरा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ टहरा गरि २६ वटा टहरा भत्काइएको हो ।
पोखरा महानगरको सार्वजनिक जग्गा संरक्षण अभियानको सुरुवात स्वरुप ति टहरा भत्काइएको उनले बताएका छन् । अन्यत्र पनि यस्ता अनधिकृत रुपमा निर्माण गरिएका संरचना क्रमस भत्काउँदै लागिने उनले बताए । सार्वजनिक जमिन कब्जा गरि विभिन्न स्थानमा आफूखुसी संरचना निर्माण गरिएका कतै पाइए महानगरमा जानकारी गराउन समेत महानगरले नगरवासीलाई आग्रह गरेकाे छ ।
सार्वजनिक जमिनमा टहरा वा अन्य संरचना निर्माण गरेकाहरुले आँफै यस्ता संरचना हटाउन आग्रह गर्दै उनले नभए कानुन बमोजिम क्षतिपूर्ति तिराएर महानगर आँफैले यस्ता संरचना हटाउने बताए । ‘अनधिकृत रुपमा जग्गा कब्जागरि निर्माण गरिएका २६ टहरा भत्कएकाछौं । पोखरा महानगरको सार्वजनिक जग्गा संरक्षणको अभियान यहीँबाट सुरु भएको छ ।
महानगरका अन्यत्रपनि यसरी निर्माण गरिएका संरचना क्रमस हटाइने छ’ उनले भने, ‘यसमा मेयर सापको खास चासाे छ । यो वा त्यो समूह, संस्था वा व्यक्तिका नाममा सर्वजनिक संरचना निर्माण गर्न महानगरले दिनेछैन । यसरी बनाइएका संरचना कानुन बमोजिम त्यसको क्षतिपूर्ति भराएर महानगर आफैले भत्काउने छ ।
नगर प्रहरी नायव निरीक्षक पुरुषोतम थापाका अनुसार जिल्ला प्रशासन कार्यालयको सहयोगमा नगर प्रहरी, जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय डाँडाको नाक र सशस्त्र प्रहरीको सहकार्य महानगरले पोखरा ३३ मा सार्वजनिक जग्गा कब्जा गरि अबैध रुपमा निर्माण गरिएका संरचना हटाइएको हो ।