पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड शुक्रबार बेलुका ७ बजेदेखि शनिबार बिहान ५ बजेसम्म बन्द गरिने भएको छ ।
आँबुखैरेनी गाउपालिका–४ साँखरस्थित मर्स्याङदी विद्युत गृह नजिक शुक्रबार बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त सडक खण्ड मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि बन्द गरिने जिल्ला प्रशासन कार्यलय तनहुँले जनाएको छ ।
वर्षाका कारण पहिरो गई सडक खण्डमा क्षति पुगेको हुँदा ठूला सवारी साधनहरुलाई वैकल्पिक बाटोबाट यातायात सञ्चालन गर्न आग्रह गरिएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए ।
‘साना सवारी साधन र दुई पांग्रे सवारी साधनहरुलाई बिहान ५ बजेदेखि ७ बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरिएको छ ।’
सडक भासिएपछि बिहानैदेखि अलपत्र सर्वसाधारणलाई पैदल हुँदै वारपार गराइएको छ । साना सवारी साधन पनि समय–समयमा सञ्चालनको व्यवस्था मिलाइएको छ ।