२२ जेठ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको गठवन्दन सरकारमा सहभागी भएको ८ महिनापछि नेकपा एकीकृत समाजवादीले सवै मन्त्री हेरफेर गर्नेभएकाे छ ।
आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले यसअघिका स्वास्थ्य राज्यमन्त्रीबाहेक सबैलाई फिर्ता पठाउँदै नयाँ नाम सिफारिस गरेको हो ।
प्रधानमन्त्री देउवालाई पठाइएको नाममा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा रहेका छन् ।
यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका खापुङ स्वास्थ्य मन्त्रीमा बढुवा भएका छन् भने स्वास्थ्य राज्यमन्त्रीका रुपमा हिरा केसीले मन्त्रिपरिषदमा जाने भएका छन् ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार सर्वोच्च अदालतको आदेशबाट विस्थापित भएपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा गत असोजमा विरोध खतिवडाको नेतृत्वमा एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री सरकारमा पठाएको थियो ।
खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए भने शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी थिए ।